स्वास्थ्य

महानगरका ५२ वटा अस्पताल लक्षित वर्गको निःशुल्क उपचार प्रणालीमा आबद्ध

इकागज |
फागुन १०, २०८० बिहीबार २२:० बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका ५२ वटा अस्पतालहरू लक्षित वर्गको निःशुल्क उपचारका लागि तयार पारिएको प्रणालीमा आबद्ध भएका छन् । यी अस्पतालहरूमा जम्मा गरेर ३७ सय ४४ वटा शय्या छन् । यसको १० प्रतिशत शय्या निःशुल्क उपचारका लागि हो । अस्पतालहरूलाई प्रणालीमा विवरण अद्यावधिक गराउन युजर नेम र पासवर्ड दिइसकिएको छ । यस क्रममा आज ११ वटा अस्पतालहरूले प्रणालीमा आबद्धता जनाएका हुन् । 

आबद्ध अस्पतालहरूमध्ये सबैभन्दा धेरै शय्या हुनेमा काठमाडौँ मेडिकल कलेज, सिनामंगल र मनमोहन ममोरियल मेडिकल कलेज, स्वयम्भू छन् । यी २ वटा अस्पतालमा ३/३ सय शय्या छन् । सबैभन्दा कम १५ शय्याका अस्पताल छन् । यस्ता अस्पतालको संख्या ७ वटा रहेको छ । 


‘नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्ने र हरेक नागरिकको स्वास्थ्य सेवामा समान पहुँच हुने नेपालको संविधानले दिएको स्वास्थ्य सम्बन्धी हक प्रत्याभूति गराउन महानगरपालिकाले काम गरिरहेको हो,’ स्वास्थ्य विभागका प्रमुख सजिना महर्जन भन्छिन्, ‘अस्पतालहरूले यसको मर्मअनुसारको सेवा प्रदान गर्नुहुनेछ भन्नेमा महानगरपालिकाले विश्वास लिएको छ  ।’ 

लक्षित वर्ग (विपन्न, असहाय र बेवारिसे) को निःशुल्क उपचारका लागि ‘काठमाडौँ महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ । यसलाई व्यवस्थित र पारदर्शी बनाउन https://www.freehealth.kathmandu.gov.np/ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ । कार्यविधिले तोकेबमोजिम फागुन १ गतेदेखि सेवा उपलब्ध गराउन स्वास्थ्य विभागले आफ्नो भौगोलिक क्षेत्रभित्र भएका सबै अस्पतालहरूलाई पत्राचार गरेको छ । 

यो प्रणाली जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले संयोजन गरिरहेका छन् । श्रेष्ठका अनुसार लक्षित वर्गले ३ वटा विधिमध्ये कुनै एकबाट सेवाका लागि जान सक्छन् । एक विपन्न परिचय पत्र छ भने सिधै अस्पतालमा जान सकिन्छ । दुई, विपन्न परिचय पत्र छैन भने आफू बसोबास गरिरहेको वडाबाट तोकिएको ढाँचामा सिफारिस, सरजमिन मुचुल्कासहितका कागजपत्र लिएर सेवा लिन सक्छन् । तीन, यी दुईवटै अवस्थाका कागजपत्र लिन नसक्नेहरूले आफू विपन्न भएको प्रमाण लिएर महानगरपालिकाको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न सक्नेछन् । प्रमाण प्रमाणित हुन सकेमा एकाइले सिफारिस गर्नेछ ।  


Author

थप समाचार
x