स्वास्थ्य

सेटिङमा महंगो औषधि भिडाउनेविरुद्व स्वास्थ्यमन्त्री बस्नेतको 'एक्सन'

इकागज |
फागुन १५, २०८० मंगलबार ९:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारी अस्पतालका फार्मेसीहरूमा औषधि राखेर सर्वसुलभ ढंगले विरामीलाई बिक्रीवितरण नगरेर सेटिङमा बाहिरका फार्मेसीको महंगो औषधि किन्न बाध्य बनाउने सरकारी अस्पताल प्रमुखविरुद्व स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत कडा रुपमा प्रस्तुत भएका छन् ।

वीर अस्पतालका निर्देशकले अस्पतालभित्र सञ्चालित फार्मेसीमा औषधि नराखेर विरामीलाई बाहिरका फार्मेसीको महंगो औषधि किन्न बाध्य बनाएको गुनासोपछि स्वास्थ्य मन्त्री बस्नेतले मन्त्रालय, औषधि व्यवस्था विभाग र सञ्चारकर्मीसहितको टोली फागुन ३ गते वीर अस्पतालको फार्मेसीको निरीक्षण गरेका थिए ।


बाहिरका फार्मेसीहरूबाट सेटिङमा आर्थिक लाभ लिएर विरामीलाई महंगोमा औषधि किन्न बाध्य बनाएको र टेन्डरमा नकिनेर सिधै औषधि खरिद गरेर नियम विपरित काम गरेको पाइएपछि मन्त्री बस्नेतले वीरको नयाँ सर्जिकल भवन अगाडिको खाली ठाउँमा टहरा राखेर भएपनि अस्पतालको फार्मेसी चलाएर विरामीलाई सर्वसुलभ ढंगले औषधि उपलब्ध गराउन निर्देशन दिएका थिए ।

त्यही दिन वीर अस्पताल वरिपरि रहेका निजी फार्मेसीहरूको अनुगमन गर्दा औषधि विभागमा दर्ता नभएका औषधि बिक्री वितरण  गरेको, मिति गुज्रिएका औषधि बिक्री गरेको र अत्यधिक महंगोमा  वितरण गरेको भेटिएपछि दुई वटा फार्मेसी सिल गरिएको थियो ।

सोमबार पनि स्वास्थ्य मन्त्री बस्नेतको निर्देशनमा मन्त्रालय र औषधि विभागका महानिर्देशकसहितको टोलीले वीर अस्पतालको फार्मेसीको खरिद प्रकृया र कान्ति बाल अस्पतालको फार्मेसीको अनुगमन एवं निरीक्षण गरेको हो ।

स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. दीपेन्द्ररमण सिंह, अतिरिक्त सचिव डा. टंक बारोकोटी, औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको नेतृत्वमा वीर र कान्तिका फार्मेसी अनुगमन निरीक्षण गरिएको थियो ।

अनुगमनका क्रममा वीर अस्पतालमा नियम विपरित टेण्डर नै नगरि  सेटिङमा औषधि खरिद हुने गरेको पाइएको छ । कान्ति बाल अस्पतालमा प्रयोग हुने औषधिको ८० प्रतिसत अस्पतालकै फार्मेसीमा रहेको पाइएको औषधि विभागका महानिर्देशक ढकालले जानकारी दिए ।

कान्तिको फार्मेसीमा जनशक्ति अभावका कारण समस्या भएको देखिएको ढकालले बताए । वीर अस्पतालको नयाँ सजिर्कल भवन अगाडिको खाली ठाउँमा टहरा निर्माण गरेर सर्वसुलभ ढंगले विरामीले औषधि किन्न सक्ने गरि फार्मेसी सञ्चालन गर्न स्वास्थ्य मन्त्री बस्नेतले दिएको निर्देशनअनुसार काम अगाडि बढेको वीर अस्पताल प्रशासनले जानकारी दिएको छ ।


Author

थप समाचार
x