स्वास्थ्य

काठमाडौँ महानगरभित्र ११८ वटा औषधि पसल मापदण्ड विपरित सञ्‍चालनमा

इकागज |
फागुन १८, २०८० शुक्रबार ११:३१ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिका भित्रका १ सय १८ वटा औषधि पसल आधारभूत मापदण्ड पालना नगरि सञ्‍चालन गरेको भेटिएको छ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । वडा नं. १, २ र ३ को धेरै र अन्य वडामा विभिन्न ठाउँमा गरेर अनुगमन गरिएको  महानगरले जनाएको छ । 

वडा नं. १४ कलंकीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाइ खोप भण्डारण गरेको पाइयो । यसरी भेट्टाइएका ३ प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टीटी खोप ९ थान र ३ थान इन्सुलिन जफत गरियो । प्राणघातक रोेग रेविजविरुद्ध लगाइने एन्टिरेविज खोपमा गरिएको यो लापर्वाही गम्भीर प्रकृतिको हो । रविचन्द्र फार्मेसीमा रेफ्रिजेरेटरको तापक्रम नमिलेको भेटियो  यस्ता समस्या आम रुपमा भेटिएको बताइएको छ।   


‘औषधि पसलहरूले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापर्वाही हो । जनस्वास्थ्यका दृष्टिले चरम गल्ती हो ।’ अनुगमनको अवस्था बुझिसकेपछि महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलले भनिन्, ‘यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन ।’  

फार्मेसी अनुगमन संयोजक एवं अस्पताल नर्सिङ निरीक्षक कल्पना श्रेष्ठले औषधि पसलमा राखिएका कुनै पनि खोप नलगाए हुने बताएकी छिन्। 'औषधि राख्ने फ्रिजमा कोल्ड चेन कुनैमा पनि मेन्टेन भएको छैन । औषधि पसल दर्ता गर्दा एउटाका नाममा प्रमाण पत्र छ । पसलमा अर्कै व्यक्ति बसेको छ । औषधि व्यवस्था विभागमा दर्ता छन्, तर महानगरपालिकामा धेरै दर्ता छैनन्,' उनले भनिन्,  'बिलमा औषधिको म्याद सकिने (एक्स्पायरी डेट) मिति, ब्याच नं. केही उल्लेख छैन । नार्कोटिक ड्रग बेच्ने पसलमा डाक्टरको मेडिकल काउन्सिल दर्ता नम्बर छैन । यस्ता औषधि डवल लक हुनु पर्ने, त्यस्तो छैन।'

उनका अनुसार यस्ता समस्या औषधि पसलमा देखिएका साझा समस्या हुन् । यस्तै हरेकका छुट्टाछुट्टै समस्या पनि छन् । रियान्स आयुर्वेदिक फर्मामा सर्जिकल र एलोपेथिक औषधि पाइयो। सुयोग आयुर्वेदिक औषधि पसलमा आयुर्वेद अध्ययन नगरेको व्यक्तिले औषधि विक्री गरेको पाइयो । रोयल गन्तव्य हेल्थ केयर प्रा. लि. घट्टेकुलोको औषधि पसलमा व्यक्ति व्यक्तिको प्रमाण पत्र थिएन।

 


Author

थप समाचार
x