स्वास्थ्य

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग

इकागज |
बैशाख ८, २०८१ शनिबार १६:२० बजे

काठमाडौँ- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् ।

शनिबार काठमाडौँको माइतीघरमा प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकालाई कारबाही गर्न र यसअघि आफूसँग भएका माग पूरा गर्न माग गरेका हुन् । उनले आफूले अघि सारेका विषयलाई सम्बोधन गर्न सरकारलाई तीन साताको अल्टिमेटम समेत दिएका छन् ।


प्रतिवेदन सार्वजनिक भइसकेको अवस्थामा त्यसका सुझावअनुसार तुरुन्त दोषीहरू उपर कारवाही गर्नुपर्ने, विश्वविद्यालयलाई राजनीतिक भागबण्डामुक्त गर्नुपर्ने माग उनले गरेका छन् ।

अहिले नेपालमा राजनीतिको चरम भ्रष्टीकरण, अपराधीकरण, माफियाकरण र दलालीकरण भन्दै उनले भ्रष्टाचार गर्ने नेता कार्यकर्तालाई कारबाही गर्नुपर्ने बताए ।

प्रत्येक प्रदेशमा कम्तीमा एउटा साथै इलाम, उदयपुर र डडेल्धुरामा एक एक वटा मेडिकल कलेज तथा प्रतिष्ठान निर्माण गरेर संचालनमा ल्याउने सहमति पनि कार्यान्वयन नभएको उनको भनाइ छ ।

हाल सत्ताको नेतृत्व गरेकाले आफ्नो दण्डहीनताका लागि सिंगो संक्रमणकालीन न्याय प्रक्रियालाई भद्दा मजाकमा परिणत गरेको उनले आरोप लगाए ।

उनले तीन हप्ताभित्र नागरिक अधिकार, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय र पीडकलाई सजाय, कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिहरूलाई कारबाही तथा सबै नेपालीलाई निःशुल्क उपचारसम्बन्धी मागहरू पूरा गर्नुपर्ने भन्दै यसलाई सरकारले गम्भीरतपूर्वक नलिए सत्याग्रह लगायतका सशक्त दबाबमूलक कार्यक्रम सुरु गर्न बाध्य हुने चेतावनी दिए ।

उनले रुसले युद्धका लागि लगेका सबै नेपालीहरूलाई फिर्ता बोलाउन र थप जान रोक लगाउने व्यवस्था तत्काल गर्न पनि माग गरेका छन् । 


Author

थप समाचार
x