स्वास्थ्य

एचआइभी सङ्क्रमितलाई मासिक भत्ता

इकागज |
बैशाख ३०, २०८१ आइतबार १५:१३ बजे

फाइल फाेटाे

कैलाली - कैलालीको चुरे गाउँपालिकाले पालिकाभित्रका एचआइभी सङ्क्रमितलाई मासिक भत्ता वितरण गरेको छ । पालिकाले सङ्क्रमितलाई पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताका रूपमा मासिक रु एक हजारका दरले भत्ता वितरण गरेको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गजेन्द्र विष्टले सामाजिक रुपमा अपहेलना हुने डरले खुल्न नसकेका एचआइभी सङ्क्रमितको पहिचान गर्न पालिकाको स्वास्थ्य शाखाको पहलमा सेती प्रादेशिक र मालाखेती अस्पतालमा एआरटी औषधि सेवन गरिरहेका व्यक्तिको खोजपड्ताल गरिएको जानकारी दिए । 


उनका अनुसार खोजपड्तालका क्रममा पालिकाभित्र २७ जना एचआइभी सङ्क्रमित रहेका फेला परेका छन् । सङ्क्रमितमध्ये १५ पुरुष र १२ जना महिला रहेका छन् । गाउँपालिकाभित्र रहेका एचआइभी सङ्क्रमितको पहिचान गरी उनीहरुलाई पोषणको कमी हुन नदिन मासिक भत्ता वितरण गरिएको उनले बताए । 

 स्वास्थ्य शाखामार्फत पोषणका लागि भत्ता वितरण गरिएको सङ्क्रमित कोही पनि सामाजिकरूपमा बाहिर खुलेका छैनन् । सङ्क्रमितहरूको आवश्यक कागजात जुटाइ बैंक खातामा एकमुष्ट छ महिनाको भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

 बाँकी ६ महिनाको भत्ता एकमुष्ट बैंकमा जम्मा गरिने पालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताए । पालिकामा पहिचान भएका सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा गरिने उनको भनाइ छ ।

साथै पहिचान भएका सङ्क्रमितका बालबालिकालाई पालिकाभित्र रहेका विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइएको अध्यक्ष बोगटीले बताए । रासस


Author

थप समाचार
x