स्वास्थ्य

स्टार अस्पतालको ब्लड बैंक आजबाट औपचारिक रूपमा सञ्‍चालन

इकागज |
असार १४, २०८१ शुक्रबार २०:५८ बजे

काठमाडौँ- सानेपास्थित स्टार अस्पतालले रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले शुक्रबार एक समारोहका बीच रक्त सञ्चार सेवा केन्द्रको उद्घाटन गरेपछि औपचारिक रूपमा सञ्चालनमा आएको हो । यद्धपी सो केन्द्रले यसअघिदेखि नै रक्त सञ्चार सेवाको काम गर्दै आइरहेको थियो ।

आज उद्घाटित ब्लड बैंकमा दैनिक करिब ३०० युनिट रगत संकलन तथा भण्डारण गर्न सक्ने क्षमताको रहेको बताइएको छ । त्यसमा फ्रेस ब्लड, होल ब्लड, प्याकेट रेड सेल लगायतका रगत र रगतजन्य तत्वहरू उपलब्ध हुनेछन् ।


सातै दिन २४ सै घण्टा खुल्ला रहने यो ब्लड बैंकमा स्वयंसेवी रक्तदाता र विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासँग सहकार्य गरी रक्त संकलन कार्य गर्दै हुँदै आइरहेको बताइएको छ । हालसम्म यस केन्द्रले उपत्यकाका ३४ भन्दा बढी अस्पतालहरूलाई रगत तथा रगतजन्य तत्वहरूको आपूर्ति गर्दै आइरहेको समेत जानकारी दिइएको छ ।

उद्घाटन कार्यक्रममा स्वास्थ्य मन्त्री यादवले निजी अस्पतालमा रक्त सञ्चार केन्द्रको स्थापना गरेर स्टार हस्पिटलले एउटा नमुना काम गरेको बताए । उनले भने, ‘रक्त सञ्चार केन्द्रको स्थापनाले अस्पतालमा उपचाररत बिरामीहरूलाई मात्र नभई, टाढाबाट आउने अन्य बिरामीहरूलाई पनि सहज हुनेछ । यो केन्द्रले उपचार प्रक्रिया सरल र छिटो बनाउन मद्दत पुर्‍याउनेछ ।’

उद्घाटन कार्यक्रममा स्टार हस्पिटलका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन, अस्पतालका संचालक समिति सदस्य, स्थानीय जनप्रतिनिधि, रक्तदानसम्बन्धी कार्य गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।


Author

थप समाचार
x