स्वास्थ्य

फ्रन्टलाइनर डाक्टरको टिप्पणी :

कोभिडविरुध्द ‘रोलमोडल’ हुनुपर्ने नेता, ‘गोलमटोल’ भए

सुनीता साखकर्मी |
पुस १०, २०७७ शुक्रबार ९:१५ बजे

काठमाडौं : पुस ५ गते नेपालको प्रतिनिधि सभा विघटन भयो । प्रधानमन्त्री केपी ओलीको सिफारिसपछि जनप्रतिनिधिको संस्था भंग गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई तीन घण्टा मात्र लाग्यो । प्रतिनिधिसभा भंग हुँदैगर्दा मुलुक कोभिड-१९ महामारीसँग पनि जुधिरहेको थियो । तर, मुलुक र सत्तारुढ नेकपाको नेतृत्वमा रहेका व्यक्तिहरूले यो विषयलाई बेवास्ता गरिदिए, जसको परिणाम, मुलुकमा राजनीतिक संकट देखापर्‍यो ।

अहिले नेपालको राजनीति पुनः एकपटक तरंगीत भएको छ । प्रधानमन्त्री ओलीको कदमसँगै देशभर नाराजुलुस भइरहेका छन् । सयौँ मानिस सडकमा उत्रिएका छन् । राजनीतिक भेटघाट, सभा, सम्मेलनहरु पनि उतिकै बाक्लिरहेका छन् ।


मुलुकको यो अवस्थामा फ्रन्टलाइनमा खटिरहेका स्वास्थ्यकर्मीहरु के भन्छन् त ? कोभिडको महामारी पूर्ण रुपमा नियन्त्रणमा नभइसकेको अवस्थामा देखापरेको यो राजनीतिक संकटले थप असर पुर्‍याउन सक्ने उनीहरुको भनाई छ ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक शेरबहादुर पुनका अनुसार अचानक देखापरेको राजनीतिक सकंट एवं घटनाक्रमले कोभिड-१९लाई वेवास्तामा पारिदिएको छ ।

पुनकै भाषामा भन्दा यो राजनीतिक खिचातानीले समाधान गर्नुपर्ने मुख्य समस्याको विषय नै ‘ट्‍वीस्ट’ (मोडिएको) भएको छ । अहिले सारा संसार कोभिड नियन्त्रण र भ्याक्सिनको उपलब्धताको लागि लडिरहेका बेला नेपालको ध्यान राजनीतिक खिचातानीमा अल्झिनु दुर्भाग्यपूर्ण रहेको डा. पुनको ठहर छ ।

नेपालमा पनि दिनहुँ ७ देखि ८ सयको हाराहारीमा कोभिड-१९ को नयाँ संक्रमित देखा परिरहेका छन् । कोभिड संक्रमितको मृत्यु हुने क्रम पनि पूर्ण रुपमा रोकिएको छैन । ‘कोभिड-१९ को वेभ अपडाउन भइरहेको बेला अहिले त कोभिडलाई नै प्राथमिकता दिनुपर्ने हो,’ उनी भन्छन्, ‘तर राजनीतिक खिचातानीले कोभिड १९ महामारी वेवास्तामा परिरहेको छ ।’

कोभिड संक्रमण देखापरेसँगै महामारी रोक्‍न पुनलगायत थुप्रै चिकित्सक, जनस्वास्थ्यविद्, स्वास्थ्यकर्मी लागि परे । मास्क, स्यानिटाइजर र सामाजिक दूरीको नियम पालना गर्न आह्वान गरे । मानिसहरुलाई कोभिडबाट बच्‍न निरन्तर खबरदारी गरिरहे ।

नियम पालना हुन्जेल कोभिड संक्रमितको दर पनि खासै बढेको थिएन । पछि कोभिड संक्रमित भएकाहरुलाई पनि ज्यानको जोखिम मोलेर स्वास्थ्यकर्मीहरुले फ्रन्टलाइनमा खटिएर उपचार गरे । तर सडकमा एकैछिन यात्रा गर्ने हो भने, न सामाजिक दुरीको पालना भएको देखिन्छ, न त मानिसहरु मास्क नै लगाएका हुन्छन् । राजनीतिक संकट देखिएसँगै पक्ष-विपक्षमा बाँडिएर आन्दोलनमा उत्रिएकाहरुले पनि कोभिड-१९ बाट बच्‍न अपनाउनुपर्ने सुरक्षाका उपायहरु अबलम्बन गरेको देखिँदैन ।

यस्तोमा कोभिड १९ बाट बचाउन फ्रन्टलाइनमा खटिएर उपचारमा संलग्नहरुको अथक मेहनतमाथि अवरोध सिर्जना हुनसक्ने डा. पुन बताउँछन् । उनका अनुसार कोभिड-१९ नियन्त्रण नभइसकेको अवस्थामा देशका नेताहरुको ठूलो भूमिका हुन्थ्यो । देशमा कोभिड संक्रमितहरु बढ्न नदिन नेताहरुले नै जनतालाई नियमहरु पालना गर्न खबरदारी गर्न सक्थे । तर नेताहरु राजनीतिक खिचातानीतिर लाग्दा देशले ठूलो नोक्सानी व्यहोर्न सक्ने पनि डा. पुन बताउँछन् ।

‘अहिले त नेताहरु रोलमोडल भएर निस्कनुपर्ने हो, कोभिड नियन्त्रणका लागि भ्याक्सिन उपलब्ध गराउन लाग्नुपर्ने हो, तर सबै पद र प्रतिष्ठाको पछि लागे,’ उनी भन्छन्, ‘देशको जिम्मेवार व्यक्ति र निकाय नै सिरियस नभए झनै ठूलो स्वास्थ्य संकट सिर्जना हुने हो कि भन्‍ने शंका उपशंका सिर्जना भएको छ ।’

‘सारा संसार कोभिड नियन्त्रण र भ्याक्‍सिनको उपलब्धताको लागि लडिरहेका बेला नेपालको ध्यान राजनीतिक खिचातानीमा अल्‍झिनु दुर्भाग्‍यपूर्ण’

देशमा उत्पन्‍न राजनीतिक अस्थीरता देख्दा फ्रन्टलाइनमा खटिएर काम गर्ने धुम्बाराहीको ह्याम्स अस्पतालकी पल्मोनरी एण्ड क्रिटिकल केयर मेडिसिन विज्ञ डा रक्षा पाण्डे निरुत्साहित हुन्छिन् । उनी भन्छिन्, ‘यो जे भइरहेको छ, ठिक भइरहेको छैन ।’

छिमेकी राष्ट्र भारतमा कोभिड १९ को भ्याक्सिन आइसक्दा नेपालले पनि त्यसमा पहल गर्नुपर्ने हो । तर नेपालका राजनीतिक पार्टीहरु कोभिडको भ्याक्सिन ल्याउन भन्दा पनि पदको लागि खिचातानीमा लागेको देख्दा डा. पाण्डेलाई अचम्म लाग्छ । उनका अनुसार कोभिड संक्रमितले अस्पताल भरिएका छन् । संक्रमितहरु घरमै बसेर अन्तिम अवस्था भएपछि मात्रै अस्पताल आइपुगिरहेका छन् । यस्तोमा फेरि नेताहरुले नै अनावश्यक खर्च गरी निर्वाचन गराउने कुरा गरेको सुन्दा उनलाई दिक्‍क लाग्छ ।

निर्वाचनमा लाग्‍ने खर्च कोभिडमा लगाउन उनी आग्रह गर्छिन् । ‘हामी अस्पतालमा खटिएकालाई थाहा छ वास्तविकता,’ उनी भन्छिन्, ‘कोभिड कम भएकै छैन । कोभिड-१९ परीक्षण नै कम भएपछि स्वतः संक्रमित कम भएका हुन् । अहिले पनि धेरै मिस भइरहेको छ । यस्तोमा कोभिडको उपचार गर्न छोडेर निर्वाचनमा जाने भन्‍ने कुरा सुन्दा पीडा हुन्छ । म त हतोत्साही नै भइसकेँ ।’

कोभिड संक्रमितहरु छन् वा छैनन्, त्यो थाहा पाउन पीसीआर टेस्ट गर्नुपर्छ । तर प्रदेश नं २ को जलेश्वर जिल्ला अस्पतालमा न पीसीआर टेस्ट हुन्छ, न त कोभिड संक्रमितको उपचार । कोभिड-१९ को रोकथामका लागि हुनुपर्ने काम नभइरहेको अस्पतालका डा. अनिल शाहले सुनाए । केही समय अघिसम्म अनिल पनि फ्रन्टलाइनमा खटिएर कोभिड-१९ बाट संक्रमित बिरामीहरुको उपचार गर्थे । तर अस्पतालले नै कोभिड अस्पतालमा खारेज गरिदियो ।

उनीहरुलाई चार महिनादेखि न तलब दियो न भत्ता । तै पनि उनीहरुले कात्तिकसम्म त काम गरेका थिए । तर पछि अस्पतालले नै उनीहरुको जिम्मेवारी परिवर्तन गरिदियो । ‘तलब भत्ता नपाए पनि हामीले भोलेन्टियर रुपमा काम गरिरहेका थियौँ,’ उनी भन्छन्, ‘अस्पतालले पैसा पनि छैन, तिमीहरु नआओ भनेपछि हामी गएका छैनौँ । अस्पतालले नै नआइज भनेपछि हाम्रो पनि के नै लाग्छ र !’

कोभिड १९ को जोखिम कम नभइसकेको बेलामा यस्तो राजनीतिक संकट आइलाग्दा झनै समस्या हुने डा. शाह बताउँछन् । कर्णालीको प्रदेश अस्पतालमा सेवा गरिरहेका डा नवराज केसीका अनुसार नेताहरु कोभिड नियन्त्रणमा नलागी राजनीतिक संकट निम्त्याएर गलत बाटोमा गइरहेका छन् ।

‘यतिवेला भीडभाड नगर्नुपर्ने हो । बेलायतमा नयाँ घातक कोभिड देखिएको छ । अहिले जुलुस निकाल्ने काम छोडेर भ्याक्सिन ल्याउन पहल गर्नुपर्ने हो,’ उनी भन्छन्, ‘हामी धनको गरिब त छदैँ थियौँ, समझदारीको गरिब, ज्ञानको गरिब, भावनाको पनि गरिब भएको प्रमाण हो यो ।’


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x