स्वास्थ्य

सेतो चिनीको कालो यथार्थ

सुनीता साखकर्मी |
पुस १९, २०७७ आइतबार ८:२ बजे

काठमाडौं : बच्चा रोयो, के गर्ने ? थुप्रैले चकलेट मुखमा राखेर चुस्‍न लगाउँछन् । गुलियो चाख्‍न पाएपछि बच्चाहरू पनि मख्ख । चुप लागिदिन्‍छन् । तर बच्चालाई चिनीयुक्त चकलेट लगायत केक, आइसक्रिम जस्ता गुलियो चिज खुवाउन नहुने पोषणविद्हरु बताउँछन् । अमेरिकाको कृषि विभाग र स्वास्थ्य र मानव सेवा विभागले त केही दिनअघि बच्चाहरूको लागि बनाएको ‘आहार दिशानिर्देश’ मा ६ महिनासम्म आमाको दुध मात्रै खुवाउन र दुई वर्षसम्म बच्चालाई चिनी राखिएको खानेकुरा नखुवाउन निर्देशन दिएको छ ।

बजारमा पाइने सेता रिफाइन्ड चिनीले मानिसको शरीरमा नकारात्मक असर गर्ने भएकाले सो नियम बनाएको क्यालिफोर्निया विश्वविद्यालयका पोषणविद् बार्बरा स्‍नीमनले बताए । 'बच्चाहरुलाई यति चाँडै रिफाइन्ड खानेकुरा खुवाउनु हुन्‍न,’ उनी भन्‍छन्, ‘बच्चाको सुरुवाती दिनहरुमा खाने प्रत्येक गाँस गणना हुन्‍छ । हरेक दिन, हरेक छाकमा स्वस्थकर खाने कुराको चयन गर्ने बानी बसाल्नुपर्छ । यसले मानिसलाई स्वस्थ बनाउँछ ।’


चिनीले मानिसको शरीरमा विभिन्‍न किसिमका रोगहरु देखा पर्न थालेपछि अमेरिकाले चिनीको प्रयोग गर्न दिशानिर्देश गर्दै आएको छ । अमेरिकामा मात्रै नभई विश्वकै लागि पनि यो रिफाइन्ड चिनीले खतरा सिर्जना गरिरहेको नेपालका आर्यम कार्की (डायटिसियन) ले बताए । आर्यम पनि रिफाइन्ड चिनी खान नहुने पक्षमा छन् । उनका अनुसार बच्चाले मात्रै नभई ठूला मानिसले पनि रिफाइन्ड चिनी खान हुँदैन ।

‘बच्चा मात्रै हैन, ठूला पनि गुलियो खानेकुरा भनेपछि सौखले खान्‍छन् । तर चुरोट जति हाम्रो स्वास्थ्यको लागि हानिकारक हो, त्यति नै नराम्रो यो रिफाइन्ड चिनी पनि हो,’ उनी भन्‍छन्, ‘चिनीमा कार्बाेहाइडे«ड बढि र पोषण तत्व कम हुन्‍छ । त्यसैले चिनी दिनुहँ नखाएकै राम्रो हो ।’

विश्वमा चिनीको उपभोग बढ्दो 
इन्टरनेशनल सुगर अर्गनाइजेसनका अनुसार विश्वका ११० देशमा चिनी उत्पादन हुन्‍छ । जसमा ८० प्रतिशतले उखुबाट चिनी बनाउँछन् । गत अक्टोबर/सेप्टेम्बर यो संस्थाले चिनी उत्पादन गर्ने टप दश देशहरुको सूची सार्वजनिक गरेको थियो, जसले विश्वमा उत्पादन हुने ७० प्रतिशत चिनीको उत्पादन ओगट्छ । जसमा भारत पहिलो नम्बरमा छ भने त्यसपछि ब्राजिल, थाइल्याण्ड, चीन, अमेरिका, मेक्सिको, रसिया, पाकिस्तान, फ्रान्स र अष्ट्रेलिया रहेको छ ।’

अर्गनाइजेशनको तथ्यांक अनुसार २००१ देखि २०१८ सम्मको बिचमा चिनीको उत्पादन १२ करोड ३४ लाख मेट्रिक टनबाट बृद्धि भएर १७ करोड २४ लाख मेट्रिक टन पुगेको छ । नेपाल पनि चिनीको प्रयोगमा कम छैन । चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालका अनुसार नेपालमा वर्षेनी २ लाख ७० हजार मेट्रिक टन चिनी उपभोग हुन्‍छ । जबकी नेपालमा जम्मा दुई लाख मेट्रिक टन चिनी मात्रै उत्पादन हुन्‍छ । अध्यक्ष शशीकान्तका अनुसार चिनीको उपभोग बढ्दै गएको छ । र थप चिनी अन्य मुलुकबाट किनिएर वा तस्करी भएर नेपाल छिर्छन् ।

चिनीको लत नराम्रो : क्यान्सरदेखि अन्य दीर्घरोगसम्मको खतरा 
पोषण विशेषज्ञ तस्‍निना कार्कीका अनुसार रिफाइन्ड चिनीले एडिक्सन गराउने काम गर्ने हुँदा बच्चाहरुले अरु स्वस्थकर खानेकुराहरुको साटो पनि त्यही खान खोज्ने हुन सक्छ । त्यसले गर्दा अरु पोषिलो खानेकुराहरु को इन्टेकको मात्रामा कमी हुँदा बच्चाहरुमा कुपोषण हुन सक्ने सम्भावना धेरै हुन्‍छ ।

उनी भन्‍छिन्, ‘त्यसैले सकेसम्म यस्ता खानेकुराबाट बच्चालाई टाढै राख्नुपर्छ । र पोषिलो खानेकुराहरु घर मा बनाएर खुवाउन सक्यो भने राम्रो हो ।’ आर्यम(डायटिसियन) पनि रिफाइन्ड चिनीले लत लगाइदिने कुरामा सहमत छन् । उनका अनुसार अहिले रिफाइन्ड चिनी हरेक चिजमा राख्‍न थालिएको छ । बिस्कुट, कोक, लगायत खानेकुराका देखिने गरी नै चिनी हुन्‍छ । तर अचेल थाहै नपाई विभिन्‍न परिकारहरुमा चिनी प्रयोग हुन थालेको छ । जसलाई ‘हिडन चिनी’ भनिन्‍छ ।

उनका अनुसार चिनी वा गुलियोले मानिसलाई खुसी बनाइदिने वा गुलियो खाएपछि मानिस रिलिफ फिल गर्ने भएकाले बजारमा त्यस्तै खानेकुरा बढि बिक्रि हुन्‍छ । जस्तै दही, इन्स्टेन्ट कर्नफ्लेक्स, ओट्स लगायत खाद्य पदार्थमा प्रशोधन गर्ने क्रममा चिनीको प्रयोग गरिएको हुन्‍छ । त्यस्तै मासुमा पनि चिनी राख्‍न थालिएको छ । चिकेन चिल्ली लगायतमा प्रयोग गरिने ससमा गुलियो हुन्‍छ भनेर मानिस अनविज्ञ हुन्‍छन् ।

यसरी दिनहुँ चिनी खाँदा चिनीले मानिसलाई लत नै लगाइदिने पनि आर्यमको ठहर छ । उनी भन्‍छन्, ‘नजाँनिदो किसिमले मानिस चिनीको लतमा परिसकेको हुन्‍छ । जसले गर्दा आज भन्दा भोलि बढी भोलि भन्दा पर्सी बढी खान थाल्छ । छोड्छु भन्दा पनि छोड्न सकिँदैन । जसले विभिन्‍न रोग निम्त्याउँछ ।’

उनका अनुसार पहिलेका पुस्तामा रिफाइन्ड चिनीयुक्त खानेकुरा खाने चलन थिएन । मानिसहरुले फलफूल र तरकारीहरुबाटै गुलियो पाउँथे । अहिलेका पुस्ताले धेरै रिफाइन्ड चिनी खान थालेकोले बच्चा र बयस्कमा मोटोपनाको समस्या बढिरहेको छ । साथै मोटोपना क्यान्सरसँग जोडिएको छ । रिफाइन्ड चिनीले मानिसमा दीर्घरोग निम्त्याउन सक्ने पनि विभिन्‍न अध्ययनले देखाएको आर्यम बताउँछन् ।

उनका अनुसार मधुमेह, युरिक एसिड, मुटुरोग लगायत कलेजोमा बोसो जम्ने जस्ता रोग लाग्‍ने सम्भावना अत्याधिक हुन्‍छ । त्यस्तै विभिन्‍न अध्ययनहरुले चिनीको सम्बन्ध क्यान्सर रोगसँग पनि भएको देखाएको छ । चिनीले क्यान्सरका सेल चाँडै बढाइदिन्‍छ । जसको कारण स्तन, प्रोस्टेड ग्रन्थी, गर्भाशय, कोलोरेक्टल र प्यान्क्रियाजको क्यान्सर निम्त्याउन सक्छ ।

प्राकृतिक चिनी भर्सेस रिफाइन्ड चिनी 

विभिन्‍न फलफूलमा फ्रुक्‍टोजको रुपमा प्राकृतिक चिनी पाइन्‍छ भने दुध र चिज लगायत दुग्ध उत्पादनहरूमा ल्याक्टोजको रुपमा प्राकृतिक चिनी प्राप्त हुन्‍छ । तर अहिले बजारमा पाइने चिनी उखु र सुगर बीटबाट प्रशोधन गरी बनाइन्‍छ । जसमा सुक्रोज पाइन्‍छ । सुक्रोज चाहिँ ग्लुकोज र फ्रुक्टोजको सम्मीश्रणबाट तयार हुन्‍छ । यस्ता सुक्रोजयुक्त रिफाइन्ड सेता र खैरा चिनीहरु, केक, कुकिज, बिस्कुट, कफिलगायत विभिन्‍न परिकारमा समेत प्रयोग गरिन्‍छ । खाद्य उत्पादकहरू केमिकल प्रयोग गरी प्रशोधन गरिएका चिनीहरु खानेकुरामा प्रयोग गर्छन् । स्वाद बढाउन पनि चिनीको प्रयोग गरिन्‍छ ।

प्राय प्रशोधित चिनीमा पोषण तत्वको कमी हुन्‍छ भने क्यालोरी बढी हुन्‍छ । तर फलफूल र दुधमा भिटामिन र खनिज पदार्थ हुन्‍छ । दुधमा प्रोटिन र फलफूलमा फाइबर हुन्‍छ । रिफाइन्ड चिनी खाँदा क्यान्सर लाग्‍ने सम्भावना बढ्छ भने प्राकृतिक चिनीले क्यान्सर रोग लागेका विरामीहरूका लागि धेरै महत्वपूर्ण छ । साथै शरीरमा क्यान्सर लाग्‍न नदिन वा अन्य रोग लाग्‍नबाट पनि प्राकृतिक चिनीले महत्वपूर्ण पोषण तत्व प्रदान गर्छ ।

त्यस्तै ब्लुबेरी, ब्ल्याकबेरी, रासबेरी, स्ट्रबेरी र स्याउमा उच्च एन्टिअक्सिडेन्ट हुने भएकाले क्यान्सरको जोखिम घटाउँछ । फलको भित्री भागमा भन्दा पनि बोक्रामा बढी फाइबर पाइन्‍छ । जसको सेवन गर्दा भोक धेरै नलाग्‍ने र तौल बढाउँदैन ।

नियम छ, तर पालना भएको छैन 

आर्यम (डायटिसियन) का अनुसार युरोपेली राष्ट्रहरुमा चिनीको उपभोग कम गर्नको लागि त्यहाँका सरकारहरुले चिनीजन्य खानेकुरा उत्पादनमा बढि कर लगाइदिएको छ ।

जसको कारण चिनीको भाउ बढेपछि चिनीजन्य खानेकुराको पनि भाउ बढ्यो । जसले क्रमिक रुपमा केही सुधार भएको पनि देखिन्‍छ । तर नेपालमा चिनीकै लागि भनेर कुनै नियम बनेको त थाहा छैन । नेपालले सन् २००४ मा राष्ट्रिय पोषण नीति र रणनीति सार्वजनिक गरेको छ ।

यसमा कुपोषण लगायत त्यसबेला विद्यमान थुप्रै समस्याहरु निराकरण गरी  पोषण सम्बन्धी थुप्रै सल्लाह सुझाव र कार्य योजनाहरु रहेका छन् । सो रणनीतिमा नेपालले पहिलोपटक २००४ मा खाद्य आधारित ‘आहार दिशानिर्देश’ प्रकाशित गरेको थियो । २०१२ मा संशोधित संस्करणको सुरुवात गर्‍यो । त्यसको ८ नम्बर बुँदामा भनिएको छ- चिनी, मिठाइ र गुलियो पेय पदार्थहरुको उपभोग कम गर्नुहोस्

त्यस्तै ‘पूरक खाद्य पदार्थहरुको पोषक तत्व’ अन्तर्गत कम पोषण तत्व युक्त पेय पदार्थ(चिया, कफि र चिनीयुक्त जुस वा सोडा) नखान सुझाव दिएको छ । त्यस्तै यसको सट्टामा भिटामिन ए भएको फलफूल र तरकारी दैनिक रुपमा खान सुझाएको छ । साथै पोषण तत्व पूर्तिका लागि विभिन्‍न खानेकुरा खानको लागि सुझाव दिएको छ । कुखुरा लगायत विभिन्‍न माछा मासु अण्डा दैनिक वा सकेसम्म बढि खान सुझाव दिएको छ । तर त्यसको पूर्ण पालना भएको छैन ।

त्यस्तै विश्व स्वास्थ्य संगठन र फुड एन्ड एग्रिकल्चरल अर्गनाइजेशनले संयुक्त रुपमा १९९८ मा सार्वजनिक गरेको रिपोर्टमा १४ बुँदे ‘जीवन शैली सम्बन्धित रोगहरूको लागि आहार दिशानिर्देशहरू’ समेटिएका छन् । जसको ९ नम्बरको बुँदामा ‘चिनीयुक्त पेय पदार्थ र खाद्य पदार्थमा कटौती गर्न’ भनिएको छ ।

नेपालमा चिनी नियन्त्रण गर्न दिशानिर्देश बनेको छ तर पालना भएको छैन । ‘असर गर्ने भएपछि आफैले पनि चिनी कम खान थाल्न पर्छ,’ आर्यम(डायटिसियन ) भन्‍छन्, ‘चिनीलाई एक कप चियामा जति खान्‍छौँ, त्यति सीमित राखौँ, त्यो भन्दा बढि खान थालियो भने त्यसले असर गर्छ ।’


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x