स्वास्थ्य

विश्‍व क्यान्सर दिवस

नेपालमा वर्षेनी १० हजार बढीले क्यान्सरकै कारण ज्यान गुमाउँछन्

जनचेतनाको कमीले क्यान्सर रोगी बढ्दै

अतिन आचार्य |
माघ २१, २०७८ शुक्रबार ८:२ बजे

काठमाडौँ- धादिङ निलकण्‍ठ-७ का रामबहादुर तामाङलाई तीन वर्षअघि एक्कासी छाती दुख्‍यो । निरन्तरको दुखाइ र खोकी नरोकिएपछि उपचार गर्न उनी काठमाडौँ आए ।

पहिलोपटक तामाङ उपचारका लागि त्रिवी शिक्षण अस्पताल पुगे । औषधि सेवन र सामान्य परीक्षण गरेपछि उनको दुखाइ कम भयो । तर, केही समयपछि पुनः तामाङ उपचारका लागि अस्पताल आए । यो पटक भने उनको दुखाईमा कमी आएन् ।


चिकित्सक र परिवारको सल्लाहबमोजिम उनले छाती र शरीरको सम्पूर्ण भाग परीक्षण गरे । स्वास्थ्य परीक्षणको उनले सोचेभन्दा फरक नतिजा पाए । त्रिवि शिक्षण अस्पतालले उपलब्ध गराएको रगत र शरीरको अन्य भागको परीक्षणमा फोक्सोको क्यान्सर पुष्‍टि भयो ।

क्यान्सर पुष्‍टि भएपछि तामाङले उपचार गर्न अस्पताल पनि परिवर्तन गरे । गत तीन वर्षदेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छन् । पहिलो चरणमा रोग पत्ता लागेकाले किमो गरेर उनको रोग निको भएको छ । तर, समय-समयमा भने नियमित फ्लोअपको लागि अस्पताल आइरहन्छन् ।

क्यान्सरलाई प्राणघातक रोग मानिन्छ । यसबाट पीडित हुने बिरामीको संख्या विश्‍वरभर दिनप्रतिदिन बढ्दो क्रममा छ । विश्‍वभर यही रोगले वर्षेनी ५० लाख बढीले ज्यान गुमाउने गरेका छन् । नेपालमा पनि वर्षेनी १० हजार बढी क्यान्सर रोगकै कारण ज्यान गुमाउनेको संख्या बढ्दै नेपाल क्यान्सर रिलिफ सोसाइटीले जनाएको छ ।

केही दशक यता मुलुकभर लगायत विश्‍वलाई क्यान्सर चुनौती बन्दै गएको छ । समयमा उपचार गर्न सकेमा कतिपय क्यान्सर निको हुने र उपचारमा ढिलाइ भएमा ज्यानै जाने जोखिम पनि छ । नेपालको विभिन्‍न क्यान्सर अस्पतालमा वर्षेनी हज्जारौँ क्यान्सरका बिरामी उपचारका लागि धाउने गरेका छन् ।

उपत्यकाको एक मात्र डेडिकेटेड भक्तपुर क्यान्सर अस्पतालमा कोभिड-१९ महामारीको कारण दैनिक तीन सय जना परीक्षण गर्न आउने गरेका छन् । जसमध्ये १० जना क्यान्सरको बिरामी हुने गरेको अस्पतालले जनाएको छ । बालबालिका, वयस्क उमेरका महिला र पुरुष दुवै हुने गरेका छन् ।

दुई वर्षमा मात्र अस्पतालको ओपिडिमा १ लाख ३२ हजार ९१६ जनाले परीक्षण गराएका थिए । जसमध्ये क्यान्सरका बिरामी ५ हजार ९३५ छन् । कोभिड महामारी अघि वर्षेनी ८ हजार बढी बिरामी भर्ना हुने गरेका थिए । महामारीको कारण लकडाउन हुँदा उपचार गर्ने मानिसको कमी आएको थियो ।

अस्पतालकाअनुसार पछिल्लो समय मुलुकमा कोभिड संक्रमितको संख्या घटेसँगै उपचार गराउने बिरामीको संख्या घटेको बढेको थियो । पुनः संक्रमणदर बढेसँगै अस्पतालमा उपचार गराउन आउनेको कमी आएको छ ।

सबैभन्दा बढी फोक्सोको, महिलाको स्तन, पाठेघरको मुखको क्यान्सर, मलद्वार, घाटी, आन्द्रा, ब्रेन ट्युमर, रगत, पित्तथैली र थाइराइडको क्यान्सरका बिरामी उपचार गर्न आउने गरेका छन् । रोग पत्ता लाग्‍नसाथ उपचार गरेमा रोग निको हुने चिकित्सकहरूले बताउने गरेका छन् ।

भौगोलिक विकटताका कारण बिरामीहरू समयमा उपचारको पहुँचमा नपुग्‍ने र स्वास्थ्य जनचेतनाको अभावले मानिसहरू उपचार गर्न समयमा पुग्दैनन् । क्यान्सरको पहिलो चरणमा अस्पताल पुगेर उपचार प्रक्रिया बढाएमा अधिकांश क्यान्सर रोगका बिरामी हुने अस्पतालका निर्देशक डा. विष्‍णु दत्त पौडेल बताउँछन् ।

डा. पौडेलका अनुसार क्यान्सर शरीरका विभिन्‍न भागमा हुने गरेको छ । शरीरका अंगमा लाग्‍ने क्यान्सर विभिन्‍न प्रकारका छन् । महिलाहरुमा सबैभन्दा बढी देखिने क्यान्सर पाठेघर तथा स्तनको क्यान्सर रहेको छ । पुरुषहरूमा फोक्सो पेट, तथा मुखको क्यान्सर भएको पाइएको छ ।

'सूर्तिजन्य पदार्थको सेवन, अन्सन्तुलित आहार, बद्लिँदो जीवनशैली, तरकारी तथा फलफूलमा अत्यधिक मात्रामा विषादी रहेको खानेकुरा सेवन गर्दा, सडे गलेको खानेकुरा खादा हुन्छ,'उनले भने,' शारीरिक व्यायामको कमीलगायतका कारण पछिल्लो समय मानिसहरूमा क्यान्सरको जोखिम बढ्दै गएको छ । मोटोपन एक कारक तत्त्वमा पर्छ ।'

पाठेघर र कलेजोको क्यान्सर बाहिरी भाइरसको कारण हुने उनले बताए । 'ह्ययुम्यन पेपिलोमा'  नामको भाइरसको कारण महिलामा पाठेघरको क्यान्सर हुने गरेको छ । '३० वर्ष पुगिसकेका दिदीबहिनीहरूले एक पटक पाठेघरको परीक्षण गराउनै पर्छ,' उनले सुझाव दिए,' यसले क्यान्सर लाग्नुभन्दा अघि पत्ता लगाउन सहयोग गर्छ ।' मानिसहरूको आयु बढनु पनि क्यान्सरको जोखिम रहेको उनको भनाइ छ ।

नेपालमा क्यान्सरको उपचार गर्न सरकारले एक लाख रुपैयाँसम्म निशुल्क उपचार व्यवस्था गर्दै आएको छ । उपचार पद्धति मँहगो भएकाले कतिपय अस्पतालले बिरामीको अवस्था हेरेर अस्पतालले निशुल्क उपचारसमेत गर्दै आएको छ ।

क्यान्सर के हो ?

यसमा कोषिकाहरुको एक समूहको अनियन्त्रित वृद्धि भएपछि सामान्य भन्दा धेरै फैलिएपछि स्वस्थ कोशिकाहरुलाई पनि क्षति पुर्‍याएपछि क्यान्सर रोग बन्छ ।

क्यान्सरका लक्षणहरू ?

घाँटी तथा अन्य अंगमा गाँठागुठी देखिन्छ । अचानक तौल घट्नु, दिसा पिसाबमा रगत देखिन्छ । थकान महसुस भएर धेरै ज्वरो आउनु र निको नहुनु,
मुख र जिब्रोमा घाउ आउनु शरीरमा रगतको कमी हुनु लगातार खोकी लाग्नु र औषधि खाँदा पनि निको हुँदैन । महिनावारी हुँदा बढी रगत जानु र दिशा पिसावको रंग बदलिनु ।

रोकथाम तथा बच्ने उपाय

क्यान्सरको आशंका हुनासाथ क्यान्सर नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । अन्य अंगको पनि नियमित जाँच गर्नुपर्छ । शरीरमा अनावश्यक गाँठागुठी आएमा, बढेमा, रंग परिवर्तन भएमा जँचाई हाल्नुपर्छ । पेनकिलरको प्रयोग धेरै गर्नु हुँदैन । स्वास्थ्य जीवनशैली अपनाउनुपर्छ । शारीरिक व्यायाम, योगा र ध्यान गर्नुपर्छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x