के सन् २०३० सम्म नेपालमा एचआईभी अन्त्य होला ?
काठमाडौँ- सरकारले पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक गरेको छ। एचआईभी संक्रमण निर्मुल पार्ने लक्ष्यसहित राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१-२०२६ राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको हो। पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजनाले नेपालबाट सन् २०३० सम्ममा एड्स अन्त्य गर्ने लक्ष्य राखेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले सन् २०३० सम्ममा नेपालबाट एचआईभी निर्मुल पार्नका लागि उक्त रणनीतिक योजना सार्वजनिक गरिएको बताइन् । यसअघिको जस्तै योजनालाई 'योजना' मात्र बन्न नदिनका लागि मात्रै नभई कार्यान्वयनका लागि बनाएको उनले बताइन्।
त्यसैगरी यस योजनाले एड्स सन् २०३० सम्ममा अन्त्य गर्न सहयोग पुर्याउने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिप्रेन्द्र रमण सिंहले बताए ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार नेपालमा ७६ प्रतिशत एचआईभी असुरक्षित यौन सम्पर्क र सुईद्वारा लागूपदार्थ प्रयोगकर्ताको माध्यमबाट सर्ने देखिएको छ ।
नेपालमा एचआईभीको उच्च जोखिममा सुईद्वारा लागु पदार्थ प्रयोग गर्ने,यौनकर्मी र पुरुष समलिंगी तथा तेस्रोलिंगीहरू रहेका छन् । वैदशिक रोजगारीमा गएका र जेलमा रहेका कैदी एचआईभीको जोखिममा रहेको केन्द्रको तथ्यांकले देखाएको छ ।
पछिल्लो समय बालबालिकामा संक्रमण फैलिएसँगै नेपालमा एचआईभी संक्रमित महिलाको संख्या पनि बढ्दै गएको छ । एचआईभी गर्भवती महिलाको संख्या २ सय १६ छ । जन्मदैको बच्चालाई संक्रमणबाट बचाउन आमालाई संक्रमित हुनबाट बचाउन राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
नेपालमा बर्सेनी दुई हजारभन्दा बढी नयाँ एचआईभी संक्रमित थपिइरहेका छन्। आर्थिक वर्ष २०७७ र ०७८ मा दुई लाख ४२ हजार ६८९ जनाको एचआईभी परीक्षण गराउँदा दुई हजार ५७९ मा संक्रमण देखिएको छ । यस्तै २०७६/०७७ मा नयाँ संक्रमित दुई हजार ४१६, २०७५–०७६ मा दुई हजार २९८, २०७४/०७५ मा दुई हजार १३, २०७३/०७४ दुई हजार १११ र २०७२/०७३ तीन हजार ६७१ नयाँ संक्रमित फेला परेका थिए। धेरैजसो बागमती प्रदेशका रहने गरेको पाइएको छ ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार आव २०७७/०७८ को तथ्याङ्कमा बागमतीमा अन्य प्रदेशभन्दा एचआईभी संक्रमित बढी छन् । सोही आवमा प्रदेश १ मा २२२, मधेशमा ५६५, गण्डकीमा २२२, लुम्बिनीमा ५११, कर्णालीमा ३२ र सुदूरपश्चिम प्रदेशमा २२४ नयाँ संक्रमित फेला परेका थिए।
यस्ताे छ लक्ष्य
योजनाले एड्स सन् २०३० सम्ममा अन्त्य गर्न विभिन्न याेजना ल्याएकाे छ । सरकारले विविध लक्ष्य लिएकाे छ । नयाँ एचआईभी संक्रमण रोकथाम गर्ने, एचआईभी संक्रमित व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी परिणामहरूमा सुधार ल्याउने, एचआईभी संक्रमित तथा मुख्य समूहहरूमा एचआईभी सँग सम्बन्धित विद्यमान असमानताहरूमा कमी ल्याएकाे हाे ।
त्यसैगरी २०२६ सम्मका लक्ष्यहरू कुल अनुमानितको ९५% संक्रमितको पहिचान गर्ने। एचआईभी संक्रमण पुष्टि भएका मध्ये ९५% व्यक्तिको उपचार गर्ने, उपचारमा रहेका एचआईभी संक्रमितमध्ये ९५% को भाइरल लोड सप्रेसन गर्ने, नयाँ एचआईभी संक्रमणदरलाई ९०% ले कम गर्ने आमाबाट बच्चामा हुने एचआईभीको संक्रमणलाई निवारण गर्ने, कंग्जेनिटल सिप्लिसको केस दर प्रति लाख जीवित जन्ममा ५० वा सोभन्दा कम गर्नेलगायत छन्।
प्राथमिकताहरू
मुख्य जोखिम समूहहरूमा एचआईभी रोकथामका सेवाहरू द्रुत गतिले बढाउने, बृहत् उपचार, हेरचाह, सहयोग, भाइरल लोड परीक्षण र सप्रेसनका सेवाहरूमा सर्वव्यापी पहुँचसहित नवीन तथा प्रभावकारी परीक्षण अवधारणा विस्तार गर्ने, आमाबाट बच्चामा हुने एचआईभी र भिरङ्गीको संक्रमण उन्मूलन गर्ने कार्यलाइ प्राथमिकतामा राखिएकाे छ ।
त्यस्तै एचआईभीसँग सम्बन्धित संवेदनशील सामाजिक सुरक्षाका सेवाहरूलाई मुख्य तथा जोखिम समूहहरूमा अभिवृद्धि गर्ने, मानवअधिकार र लैङ्गिकताको आधारमा एचआईभी सँग सम्बन्धित प्रतिकार्य गर्ने, एचआईभीसँग सम्बन्धीत सुशासन सुदृढीकरणको लागि, प्रभावकारी,समावेशी र जवाफदेही सेवा बनाउने समेत जनाइएकाे छ।
यो पनिः
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया