रोग र उपचार

विश्व एड्स दिवस

नेपालमा एचआईभी एड्सका ३३ वर्ष

भाइरसको डर हट्यो, संक्रमण कति घट्यो ?

अतिन आचार्य |
मंसिर १५, २०७८ बुधबार ५:३५ बजे

काठमाडौँ- नेपालमा चार वर्षमा ७४ हजार ५०९ जना एचआईभी संक्रमितले उपचार सेवा लिएका छन् । देशभरका विभिन्‍न सरकारी अस्पताल तथा उपचार केन्द्रबाट आर्थिक वर्ष २०७७/०७८ मा २० हजार ८ सय ८३, आव २०७६/०७७ मा १९ हजार २ सय ११, आव २०७५/०७६ मा १७ हजार ९ सय ८७ र आव २०७४/०७५ मा १६ हजार ४ सय २८ जनाले उपचार सेवा लिएका थिए ।

सरकारी तथ्यांकअनुसार संक्रमितको संख्या घटे पनि उपचार सेवा लिनेको संख्यमा कमी आएको छैन । तर, पनि सरकारले सन् २०३० एडस महामारीको अन्त्य गर्ने लक्ष्य राखेको छ । शून्य नयाँ एचआईभी संक्रमण, शून्य एड्ससम्बन्धी मृत्यु र शून्य एचआईभी सम्बन्धित भेदभाव गर्ने लक्ष्य राखेको हो ।


त्यसैगरी सरकारले आगामी पाँच वर्षमा आमाबाट बच्चामा हुने एचआईभी संक्रमणको अन्त्य गर्ने लक्ष्य राखेको छ । सन् २०२६ सम्ममा आमाबाट जन्मेको बच्चामा सर्ने एचआईभी संक्रमण अन्त्य गर्ने लक्ष्य राखी कार्ययोजना अगाडि बढाएको हो ।

मुलुकमा आमाको पेटबाट संक्रमित भएको संख्या करिब १ हजार ३ सय रहेको छ । कुल १ हजार २ सय ६८ जना बालबालिका छन् । भर्खरै जन्मेका बच्चादेखि १४ वर्षसम्मका बालबालिका रहेका छन् । कुल संख्याको ४ दशमलव २ प्रतिशत रहेको छ ।

पछिल्लो समय बालबालिकामा संक्रमण फैलिएसँगै नेपालमा एचआईभी संक्रमित महिलाको संख्या पनि बढ्दै गएको छ । एचआईभी गर्भवती महिलाको संख्या २ सय १६ छ । जन्मदैको बच्चालाई संक्रमणबाट बचाउन आमालाई संक्रमित हुनबाट बचाउन राष्‍ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

केन्द्रकाअनुसार नेपालमा एचआईभी संक्रमितको अनुमानित संख्या ३० हजार ३ सय रहेको उल्लेख गरेको छ । महिला संक्रमित १३ हजार ९ सय ८६ र पुरुष १६ हजार ३१४ जना छन् ।

मुलुकमा विभिन्‍न समयमा गरी वार्षिक ७ सय ५४ संक्रमित थपिने गरेका छन् । त्यसैगरी एड्सकै कारण एक वर्षमा ६ सय ३६ जनाको मृत्यु हुने भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा मात्र १५ देखि २४ वर्षका संक्रमित युवाहरूको प्रतिशत शून्य दशमलव २० प्रतिशत रहेको छ । हजार जनसंख्यामा एचआईभीको संक्रमणदर शून्य दशमलव ३ प्रतिशत छ ।

एन्टिरोट्रोभाइरलको सुरुवात भएपछि वयस्कहरू एक वर्षमा ९५ प्रतिशत र बालबालिका ९८ प्रतिशत उपचारका लागि आउने गरेका छन् ।

गत आव २०७७/०७८ मा मात्र २ लाख ४२ हजार ६ सय ८९ जनाले एचआईभी परीक्षण गराएका थिए । सोही वर्ष २ हजार ५ सय ७९ जनामा एचआईभी संक्रमण दखिएको थियो । आ.व २०७६/०७७ मा १ लाख ४७ हजार ९६८ जनाको परीक्षण गरिएको मध्येमा २ हजार ४ सय १६ जनामा एचआईभी पुष्‍टि भएको थियो ।

त्यसैगरी आ. व २०७५/०७६ मा २ लाख ३७ हजार ४ सय ९६ को परीक्षण गरिएको थियो । २ हजार २ सय ९८ जनामा एचआईभी संक्रमण पुष्‍टि भएको थियो । आव २०७४/०७५ मा ३ लाख ३० हजार ४ सय ६० जनाको परीक्षण गर्दा २ हजार १ सय ५२ मा संक्रमण पुष्‍टि भएको थियो ।

संक्रमित रहेसँगै केन्द्रबाट उपचार गराउनेको संख्या पनि घट्दै गएको छ । अघिल्लो आ.व को तुलनामा आ.व २०७७/७८ मा २ सय ७ जना बढीले उपचार सेवा लिएका थिए । आ. व २०७६/०७७ मा २ हजार १ सय ४० जनाले उपचार सेवा लिएका थिए । आ.व २०७५/०७६ मा २ हजार ४ सय १४ र आ.व २०७४/ ०७५ मा २ हजार ६ सय १३ उपचार सेवा लिएका हुन् ।

नेपालमा सन् २०३० सम्ममा एडसको महामारीको अन्त्य गर्ने लक्ष्य राखेको छ । शून्य नयाँ एचआईभी संक्रमण, शून्य एड्स सम्बन्धी मृत्यु र शून्य एचआईभी सम्बन्धित भेदभाव गर्ने लक्ष्य राखेको छ ।

सन् २०३० सम्मका ९५-९५-९५ लक्ष्यहरू राखेको छ । ९५ प्रतिशत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, ती मध्ये ९५ प्रतिशतको एआरभी औषधी उपचारमा पहुँच हुने र ती औषधी खानेहरु मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून भएको हुनेछ । मुलुकमा भाइरल लोड परीक्षण गर्ने मेसिन ८ वटा छ । सात प्रदेशमा भाइरल लोड परीक्षण केन्द्र छन् ।

नेपालमा एचआईभीको उच्च जोखिममा सुईद्वारा लागूपदार्थ सेवन गर्नेहरू, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रो लिंगीहरू, वैदेशिक रोजगारीमा गएकाहरू र जेलमा रहेका कैदीबन्दीहरूसमेत एचआईभीको उच्च जोखिममा छन् ।

नेपालमा पहिलो एचआईभी संक्रमित सन् १९८८ मा पहिचान गरिएको थियो । नेपालमा रहेको एचआईभीको वर्तमान अवस्थालाई केन्द्रीकृत महामारीको रुपमा परिभाषित गरिन्छ । एक वा सो भन्दा बढी एचआईभी सर्न सक्ने जोखिममा रहेका जोखिममा रहेका समूहमा एचआईभी संक्रमणदर ५ प्रतिशत भन्दा बढी छन् । सामान्य जनसंख्यामा एचआईभी संक्रमणदर १ प्रतिशत भन्दा कम हुनु हो ।

एड्स तथा एचआईभीको उच्च प्रभावित क्षेत्रहरू तराईको राजमार्ग जोडिएका जिल्लाहरू छन् । सुदुरपश्‍चिमक पहाडी जिल्लाहरू, पोखरा उपत्यका र काठमाडौँ उपत्यका छन् । 

एचआईभी संक्रमितहरूलाई ८३ वटा एआरटी केन्द्रहरू स्थापना गरी ४५ वटा एआरभी केन्द्रहरूबाट निःशुल्क औषधि वितरण भइरहेको छ । हाल ४४ वटा जिल्लामा सञ्‍चालित छन् ।

विश्‍वभरमा सन् २०२० को अन्त्‍यसम्ममा ३ करोड ७७ लाख  एचआईभी संक्रमित थपिएका छन् । सन् २०२१ युएनएड्सका तथ्यांकले उक्त कुराको जानकारी दिएको छ ।

सन् २०२० मा १५ लाख नयाँ एचआईभी संक्रमण भएको अनुमान गरिएको थियो । जुन सन् २०१० को तुलनामा ३१ प्रतिशतले घटेको हो । सन् २०१० मा २१ लाख नयाँ संक्रमित थिए । 

त्यसैगरी युएनएड्सकाअनुसार सन् २०२० मा १ लाख ५० हजार बच्चामा एचआईभी पुष्‍टि भएको थियो । जुन सन् २०१० को तुलनामा ५३ प्रतिशतले घटेको हो । सन् २०१० मा ३ लाख २० हजार बच्चामा नयाँ संक्रमण भएको अनुमान थियो । 

एड्सको कारणले सन् २०२० मा मात्रै करीब ६ लाख ८० हजार व्यक्तिहरुको मृत्यु भएको छ । जुन सन् २०१० को तुलनामा ४८ प्रतिशतले कम भएको हो । सन् २०१० मा १३ लाख व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएको अनुमान थियो ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x