स्वास्थ्य

पहिलो खोप लगाएका थापा भन्छन् : स्वास्थ्य सतर्कता जारी राखौँ

अनिष भट्टराई |
माघ १४, २०७७ बुधबार १६:११ बजे

पोखरा : गण्डकी प्रदेशमा आइतबार कोभिडविरुद्धको खोप आयो । खोप ल्याइसक्दासम्म कसले लगाउने, पहिला कसले लगाउने निश्चित थिएन । मंगलबार बेलुकासम्म सुरुमा कसलाई खोप लगाउने भन्ने निक्र्यौल हुनै सकेन । स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसबारे सल्लाह गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बुद्धिबहादुर थापासँग छलफल गर्‍यो ।  

काठमाडौँबाट पोखरा फर्किरहेका थापालाई कसलाई पहिला खोप लगाउने निक्र्यौल नभएको सुनाइयो । ‘साइड इफेक्ट’ देखिने डर स्वास्थ्यकर्मीमै थियो । यो अवस्था बुझेका ६५ वर्षीय थापाले सुरुमा खोप लगाउनेमा आफ्नो नाम टिप्न लगाए । सोही अनुसार आज बुधबार गण्डकी प्रदेशमा सबैभन्दा पहिलो पटक उनै थापाले कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ लगाए ।


‘हिजोसम्म कसले लगाउने निश्चित भएको रहेनछ, अनि मलाई फोन आएपछि म वृद्धपनि भएँ, सुरुमा मैले लगाए अरुमा पनि डर हट्छ भनेर पहिला लगाएँ,’ थापाले भने । कोभिड महामारीका बेला पनि स्वास्थ्य उपचारमा खटिएका उनलाई कोरोना लागिपो हाल्छ कि भन्ने डर थियो । तर डर अरुका अगाडि देखाउन भने सक्दैनथे, किनकी अरु स्वास्थ्यकर्मीपनि निरुत्साहित हुन सक्थे । अब भने उनी कोरोना नलाग्ने भएपछि नडराई स्वास्थ्य सेवामा हाजिर हुने बताउँछन् । ‘एक मनले डर त मानिहाल्छ नि, अब भने नडराई ट्रिटमेन्टमा लाग्न सकिन्छ,’ थापाले भने, ‘खोप कहिले आउला भएको थियो, अब त निर्धक्क हुन सकियो नि ।’

अरुले खोपको साइड इफेक्टका बारेमा भ्रामक प्रचार गरेपनि त्यसमा विश्वास नगर्न उनले आग्रह गरे । त्यही भ्रामक प्रचार हटाउन नै आफूले सुरुमा खोप लगाएको उनको जिकिर छ । ‘अहिलेसम्म मैले खोपको साइड इफेक्ट देखेछैन, अहिले अफिसमै बसिरहेको छु, इफेक्ट हुन्थ्यो भने अब त देखिनुपथ्र्यो,’ उनले भने । कोभिड खोप लगाउँदैमा अब केही हुँदैन भनेर नहिँड्न र स्वास्थ्य मापदण्ड अपनाउन उनले सुझाए । 

‘२ महिनामा २ खोप लगाउनु पर्छ, अहिले बचेँ भनेर हिँड्नुहुन्न, स्वास्थ्य मापदण्ड पालना गरिराखौं,’ थापाले भने । स्वास्थ्य विज्ञान प्रतिष्ठानकै डा.बुद्धिसागर लामिछानेलाई खोप लगाउनु अगाडि बाहिर आएका हल्लाले सतायो । परीक्षण गर्न ल्याइएको खोप, साइड इफेक्ट हुने खोप भनेर गरिएका हल्लाले उनलाई खोप लगाउन भने रोकेन । उनी निर्धक्क खोप लगाउन लाइनमा उभिए र खोप लगाए । ‘अरुले हल्ला त गर्छन् नि, तर उपकुलपति सरले नै सुरुमा लगाएपछि हामी पनि निर्धक्क उभिएर लगायौं,’ लामिछानेले भने । 

गण्डकी प्रदेशमा बुधबार दिउँसोसम्म १ हजार २ सय २७ जनाले कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोदविन्दु शर्माले बताए । प्रदेशका ११ जिल्ला र कास्कीका ३ अस्पतालमा खोप लगाइएको छ । ‘हामीले १४ ठाउँमा कोरोना खोप लगाउने व्यवस्था मिलाए अनुसार खोप लगाउने काम भइरहेको छ,’ निर्देशक शर्माले भने । गण्डकी प्रदेशका १६ हजार ७ सय ३० जनालाई १८ गतेभित्रमा कोरोनाविरुद्धको खोप लगाइसक्ने प्रदेश सरकारको योजना छ । 

कोभिडविरुद्ध खोप लगाएका व्यक्तिमा ज्वरो आउने, टाउको दुख्‍ने, तातो हुने, सुन्‍निने लगायत समस्या देखिन सक्ने र त्यो सामान्य रुपमा लिन प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । खोप लगाएका कारण कुनै गम्भीर समस्या आइहालेमा प्राथमिक उपचार जिल्ला अस्पतालमै गर्ने र गम्भीर भए पोखराको मुख्य ४ अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पता, गण्डकी मेडिकल कलेज र संक्रमाक तथा सरुवा रोग अस्पतालमा रिफर गरी उपचार गराइने शर्माको भनाइ छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोप कार्यक्रम शुभारम्भ गरेका थिए । मुुख्यमन्त्री गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट खोप कार्यक्रमको शुभारम्भ गरेका हुन् । 

कार्यक्रममा मुख्यमन्त्री गुरुङले कोरोना महामारीविरुद्ध सुरुवाती शून्यताको अवस्थाबाट छोटो समयमा सुविधासम्पन्न प्रयोगशाला, स्वास्थ्य उपकरण तथा जनशक्तिका क्षेत्रमा महत्वपूर्ण सफलता हाँसिल भएको बताए । महामारी सुरु भएको एक वर्षभन्दा कम अवधिमा भौतिक पूर्वाधार र स्वास्थ्य संरचनाको सृदृढीकरण, उपकरण व्यवस्थापन तथा ६८ स्थानमा प्रयोगशाला स्थापना भएर कोभिड–१९ विरुद्धको अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागमा खटिएर काम गर्नेहरुबाट ठूलो योगदान भएको उनले बताए । 

‘गण्डकी प्रदेशसहित नेपालभर कोरोना भ्याक्सिन सुरुआत भएबाट कोभिड–१९ विरुद्धको लडाइँमा ठूलो सफलता हाँसिल भएको छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘महामारी प्रारम्भ भएको एक वर्ष नपुग्दै खोपको अनुसन्धान तथा उत्पादन आउनुु विज्ञान प्रविधिका कारणले सम्भव भएको छ ।’  

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले गत वर्ष माघ १० गते नेपालमा पहिलो कोरोना सङ्क्रमण देखिएपछि प्रदेश सरकाले माघ १२ गतेदेखि कोरोनाविरुद्ध योजनाबद्ध कार्यक्रम सुरु गरेको बताइन् ।  


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x