स्वास्थ्य

कोभिड महामारीमा गलत सूचनाका कारण विश्वभर आठ सयको मृत्यु

इकागज |
बैशाख १९, २०७९ सोमबार ११:५३ बजे

काठमाडौँ- कोभिड-१९ महामारीमा गलत सूचनाका कारण विश्वभर आठ सय मानिसको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार बिहान जोखिम सञ्‍चार र मिडिया अन्तक्रिया कार्यक्रममा शिक्षा प्रशासक डा. राधिका थपलियाले जर्नलमा उल्लेख गरिएअनुसार गलत सूचनाका कारण आठ सय मानिसको मृत्यु भएको जानकारी दिइन् ।

'अमेरिकन जर्नल अफ ट्रोपिकल मेडिसिन एन्ड हाइजीनमा प्रकाशित उल्लेख छ,' उनले भनिन्,' मिथानोल वा मदिरामा आधारित सफाइ उत्पादनहरू सेवन गर्नाले कोभिड निको हुन्छ भन्ने गलत सूचनाका कारणले ज्यान गएको थियो ।'


अध्ययनले सामाजिक सञ्जालमा फैलिएको गलत सूचनाका कारण ५८०० भन्दा बढी मानिसहरूलाई अस्पताल भर्ना गरिएको उनले उल्लेख गरिन्। धेरै मानिसहरूको आँखाको ज्योति गुमेको उनले बताइन् । धेरैलाई विभिन्न स्वास्थ्य जटिलताहरू देखिएको उनले सुनाइन् ।

कोभिड महामारीमा विभिन्न अफवाह फैलिएको सन्दर्भ पनि उल्लेख गरेकी थिइन् । भाइरस कार्ड घाँटीमा झुड्याए कोभिड नसर्ने जस्ता अफवाह फैलिएको स्मरण थपलियाले गराइन् ।

कोभिडविरुद्धको खोपले शरीरलाई चुम्बकीय बनाउँछ भन्दै धेरै जनाले पाखुरामा चम्चा अडाउँदै विभिन्न फोटो, भिडियोहरू सामाजिक सञ्जालमा पोष्ट भएको उनले जानकारी दिइन् ।

सुनले कोभिड भाइरस तानेर मानिसलाई संक्रमणमुक्त बनाउने भनेर प्रचारप्रसार भएको उनले बताइन् । 'कोभिड गार्ड कोठामा राखेमा सुरक्षित भइने अफवाह फैलिएको थियो,' उनले भनिन् ।

थपालियाले महामारीमा सञ्चारमाध्यमले सत्यतथ्य तथा सुरक्षित हुने जानकारी दिनुपर्ने बताइन् । शंकाको सूचना समाचार प्रशारण नगर्न उनले आग्रह गरिन् । उनी भन्छिन,'  झन् माहौल बिगार्न सक्छ । आधिकारिक श्रोतबाट आए–नआएको पुष्टि गरेर मात्र सूचना सामाग्री प्रकाशन प्रसारण गर्नुपर्छ ।'

जोखिमको बेला समाधान गर्ने खालका सूचना सामाग्रीहरु सम्प्रेषण गर्नुपर्ने उनको भनाइ छ । स्वास्थ्य समस्या भए उपचार लिन कहाँ जाने जस्ता जानकारी दिनुपर्ने प्रस्ट पारिन् ।  


Author

थप समाचार
x