घटना-दुर्घटना

दैलेख दुर्घटनाको मुख्य कारण ओभरलोड : प्रहरी

इकागज |
जेठ १२, २०७९ बिहीबार १२:० बजे

सुर्खेत- मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको ज्यान गयो भने ३९ जना घाइते भएका छन् । बुधबार मुगुबाट नेपालगञ्ज जाँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठविस नगरपालिका–२ सिस्नेस्थित कर्णाली राजमार्गमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा दैलेखको दुल्लु नगरपालिका–९ का  ३२ वर्षीय प्रेम सुनार र ३६ वर्षीय काशीराम पाण्डे, कालिकोटको पलाँता गाउँपालिका–३ का ३५ वर्षीय ज्ञानबहादुर बम र ५५ वर्षीय धनकला शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । बसमा ६२ जना यात्रु थिए ।


तीमध्ये ३९ जना घाइते रहेको प्रहरीले जनाएको छ। घाइतेहरु सबैलाई राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद शाहले जानकारी दिए । प्रहरीका अनुसार बस कर्णाली राजमार्गबाट ४० मिटर तल कर्णाली नदीको किनारमा खसेको छ ।

प्रहरी नायव उपरीक्षक शाहका अनुसार दुई जना गम्भीर घाइते र अन्यको अवस्था सामान्य रहेको छ । शाहका अनुसार दुर्घटनाको कारण ओभरलोड रहेको हुन सक्ने बताए । ‘गाडी चालकले ब्रेक फेल भएर दुर्घटना भएको बताएको छ तर, गाडीमा क्षमताभन्दा बढी यात्रुहरु राखिएको पाइयो’ उनले भने, ‘प्रहरीको चेक प्वाइन्टमा ३५ जना मात्र यात्रु रहेका थिए तर, बीच बाटोमा यात्रु थप्दै जाँदा धेरै यात्रु भएछन् ।’

क्षमताभन्दा बढी यात्रु नराख्ने भनेर प्रहरीको चेक प्वाइन्टमा चेक हुनुको साथै प्रहरीले सचेत गराउने गरेता पनि नागरिकहरु लुकीछिपी बीच बाटोमै गाडी चढ्ने कारण पनि दुर्घटना निम्तिने गरेको शाहले बताए ।


Author

थप समाचार
x