विमान दुर्घटना : एकै परिवारका सात जनाले ज्यान गुमाउँदा पुरै गाउँ शोकमग्न
जनकपुरधाम – धनुषाको मिथिला नगरपालिका–११ स्थित लोटा भन्ने गाउँ अहिले पुरै शोकमग्न छ । हिजो बिहान मुस्ताङ जिल्लाको थासागं गाउँपालिकाको वडा २ सानसुरेमा तारा एयरको विमान दुर्घटनामा राजन गोले तामाङसहित परिवारका सात जनाले ज्यान गुमाएको घटनाले पुरै गाउँ नै शोकमग्न भएको हो ।
आइतबार साँझसम्म विमान खोजी भइरहेको छ भन्ने कुरासम्म सबै गाउँवासी र राजनसँगै ज्यान गुमाएका उनका मामा माइजुका परिवारले दिनभरि यताउता फोन घुमाइ रह्यो पछि मृत्यु भएको पुष्टि भइसकेपछि अहिले उनका परिवारसहित पुरै गाउँ नै शोकमा डुबेको छ ।
पोखराबाट जोमसोम हुँदै मुक्तिनाथ दर्शनका लागि हिंडेका राजन गोले तामाङले जोमसोम विमानस्थलमा अवतरण नहुँदै बाबु इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङसंगै ज्यान गुमाउनु परेको छ ।
दुर्घटना खबरपछि लोटा स्थित राजनको कोही नबस्ने गरेको कारण निर्माणाधीन घर अहिले सुनसान छ भने उनको मामा मकरबहादुरको घर पनि सुनसान छ । तर मकरबहादुरको छोरी शान्ति लामा तामाङको घरमा सान्त्वना दिन आउने गाउँले तथा आफन्तहरुको ओइरो लागिरहेको छ ।
मकर गाउँकै रातुरा प्राविका अवकाश प्राप्त शिक्षक हुन । ७२ वर्षीय मकरबहादुर करिब १२ वर्ष अगाडि शिक्षक पेसाबाट अवकाश भएपछि नेकपा एकीकृत समाजवादी पार्टीमा आबद्ध भई स्थानीय स्तरमा सामाजिक कार्यमा संलग्न थिए । मकरबहादुरको परिवारमा उतम गोले, सुरेश गोले, भूषण गोलेसहित तीन छोरा र शान्ति लामा तामाङ, कान्ति लामा तामाङसहित दुई छोरी छन् ।
छोरीहरुको विवाह भइसके पनि सोही गाउँमा घर बनाएर बस्दै आएका छन् । कान्छा छोरा भूषण वैदेशिक रोजगारको क्रममा कतारमा रहेका छन् भने सुरेश गाउँमै खेतीपाती गर्दै आएका छन् । उत्तम काठमाडौँ राजनसँगै उनको फर्ममा काम गर्दै आएको छिमेकी बाबुराम गोले तामाङले बताए ।
उनले भने, `मकर सर निकै राम्रो मान्छे हुनुहुन्थ्यो, शिक्षक सेवाबाट अवकाश भएपछि छोरा सुरेशसँगै गाउँमै खेतीपाती गर्दै आउनु भएको थियो । विमान दुर्घटनामा उहाँको मृत्युको खबरले हामी गाउँवासी निकै मर्माहित भएका छौं।`
मकरबहादुरको जेठा छोरा उत्तम परिवारसहित काठमाडौँमै रहेको र माहिला छोरा सुरेश पनि बुवाको शवका लागि काठमाडौँ गएको कारण उनको घर अहिले सुनसान छ । सान्त्वना दिन आउने गाउँलेहरु उनको छोरी शान्तिकै घरमा जाने गरेका छन्।
यता राजनको लोटास्थित घरमा कोही नभएको कारण सुनसान छ भने काठमाडौ गोकर्णेस्वरस्थित घरमा रुवावासी छ । राजनको परिवारमा बुवाआमाले ज्यान गुमाइसकेका छन् भने परिवारमा रहेका श्रीमती दीपा सुवेदी र छोराछोरी काठमाडौँमै छन्, भाइ मनोज गोले तामाङ श्रीमती र छोराछोरीसहित अष्ट्रेलिया बस्दै आएका छन।
राजन नेकपा एस धनुषाका जिल्ला सदस्य हुन् । केही दिनअघि स्थानीय तहको निर्वाचनका लागि आफ्ना पार्टीका मेयर पदका उम्मेदवार सुर्य पुडासैनीलाई सहयोग गर्न आफ्नो गाउँ आएका थिए । चुनावभरि मतगणना परिणाम नआउञ्जेलसम्म गाउँमै आफ्नो घर निर्माणाधीन अवस्थामा रहेकाले मामा मकरबहादुरको घरमा बसेका कुरा छिमेकी बाबुरामले बताए ।
मतगणना परिणाम आइसकेपछि उनी काठमाडौँ गएका थिए । उनी गाउँ बस्दासम्म मुक्तिनाथ दर्शन जाने कुनै चर्चा थिएन, काठमाडौ गएपछि ४-५ दिन अघि बुवा मकरबहादुरलाई आमा बुवासँगै मुक्तिनाथ दर्शन गर्न जाउँ भनी फोन गरेका थिए भन्ने कुरा मकरकी छोरी शान्तिले रुदै बताइन । उनले भनिन्, `शुक्रवार बिहान यहाँबाट बुवा मकर आमासँगै काठमाडौं गएका थिए । काठमाडौँ गएको दुई दिन नबित्दै विमान दुर्घटनामा मृत्युको खबर आएको छ।`
राजनका काका पुरुषोत्तम गोले पनि काठमाडौँ नै बस्दै आएका थिए । गाउँमा उनको घर पनि छैन । पुरुषोत्तमको परिवारमा तीन छोरा र दुई छोरी छन्। छोराहरु सुदर्शन गोले, श्यामदर्शन गोले र विजय गोले अमेरिका बस्दै आएका छन् भने छोरीहरु आशा र विन्दुको विवाह भइसकेको छ । छोराहरु अमेरिकामा छोरीहरु ससुराल बस्दै आएका कारण बुढाबुढी दुवै धेरै पहिलादेखि काठमाडौ नै बस्दै आएको छिमेकी भक्तबहादुर तामाङले बताए ।
राजन प्राविस्तरसम्मको पढाइ गाउँकै रातुरा प्राविमा गरेका थिए भने माध्यमिक तहसम्मको पढाइ सिन्धुली भिमान स्थित अरुणोदय माध्यमिक विद्यालयबाट गरेका थिए । एसएलसीपछि उच्च शिक्षाको पढाइ काठमाडौँ बसेर त्रिभुवन विश्वविद्यालयबाट गरेका हुन् ।
राजनले राजनीतिकसँगै काठमाडौँमै प्रोगेसिव इन्टाटिभ प्रालि नामक गलैचाको कम्पनी चलाउँदै आएका थिए भने नेकपा एसबाट शत्रुध्न महतो प्रदेश मन्त्री भएपछि उनको निजी सचिवालय सदस्यको रुपमा काम गरेको भन्ने कुरा सुन्नमा आएको भक्तबहादुरले बताए ।
पोखरा विमानस्थलबाट जोमसोमका लागि जहाज चढ्नुअघि राजन गोलेले बाबुआमा, काकाकाकी र मामामाइजुको सामूहिक फोटो खिचेर घरमा पठाएका थिए । सो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । ती फोटोमा आमाको काँधसँगै परिवारका सबै सदस्यहरूको बीचमा उभिएका राजन निकै खुसी देखिन्छन् । तर वृद्ध बुबाआमासहित परिवारका अन्य वृद्ध सदस्यहरुलाई मुक्तिनाथ दर्शन गराउने सपना विमान दुर्घटनाले अपुरै रह्यो ।
विमान चढ्नुअघि राजनले आफ्ना घरमा मामा छोरीहरु दिदी शान्ति र कान्तिलाई मामा माइजू शुक्रबार नै काठमाडौं पुगिसकेको अहिले जोमसोमका लागि पोखरा विमानस्थलमा छौं, केही बेरमा विमान उड्ने जानकारी गराए थिए ।
राजनका दिदी शान्तिले भनिन्, `राजनले हिजो बिहानै करिब १०-११ तिर फोन गरेर मामा माइजू काठमाडौँ आइसक्नु भएको छ, अब हामी सबै जना मुक्तिनाथका लागि निस्केका छौं । काठमाडौबाट पोखरा आइसकेका छौं, अहिले विमान स्थलमा छौं, केही बेरमा विमानमा चढेर पोखराबाट जोमसोम जानेछौं, कुनै चिन्ता लिनु पर्दैन मामा माइजूलाई राम्ररी दर्शन गराएर एक सातापछि लोटा पठाइ दिनेछौं।`
`बुवासँग पनि कुरा भएको थियो, उनी निकै खुशी देखिन्थे, उहाँले मुक्तिनाथको दर्शन सकाएपछि अघिल्लो साता गाउँ आउनेछु तबसम्म राम्ररी बस्नु घरबार हेरचाह गर्नु भन्नु भएको थियो`, भक्कानिदै शान्तिले भनिन् ।
राजन नेकपा (एकीकृत समाजवादी) धनुषाका जिल्ला सदस्य एवं मधेस प्रदेशका पर्यटनमन्त्री शत्रुध्न महतोका सचिवालय सदस्य समेत रहेका थिए । घटनाले पार्टीलाई ठूलो क्षति पुगेको र पार्टी कार्यकर्ताहरु स्तब्ध रहेको मन्त्री महतोले बताए ।
उनले भने, `घटना लगतै राजनकी श्रीमती दीपाले ‘जहाज सम्पर्कविहीन भएको भन्ने कुरा आएको छ, मामा जसरी पनि सबै जनालाई खोजी दिनुपर्यो भन्दै फोन गरेकी थिइन् । म पनि आफ्नो तर्फबाट सम्बन्धित निकायमा फोन गरिरहेकै बेला एक्कासी खबर आयो जोमसोम जाने विमान दुर्घटनामा सबै यात्रुको मृत्यु भएको छ।`
‘मतगणनाको दिनसम्म उ गाउँमै थियो। त्यतिबेलासम्म मुक्तिनाथ जाने उसको कुनै योजना थिएन,’ महतोले भने, ‘काठमाडौं गइसकेपछि कार्यक्रम बनेको जस्तो लाग्छ । मतगणना सकिएपछि राजनले काठमाडौं जानु छ भनेर केही दिनका लागि बिदा मागेका थिए, यही बीचमा उनले मुक्तिनाथ दर्शनका लागि योजना बनाएर गएका हुन्।`
मन्त्री महतोले भने, `राजनको श्रीमती दीपाको फोन आउने बितिकै राजनलाई फोन गर्दा स्वीच अफ भएको थियो, त्यसपछि उनका मामा मकरबहादुरलाई पनि फोन गर्दा पनि फोन बन्द थियो । केही बेर त म अलमलमा परेँ, त्यसपछि वायुसेवा निगम र तारा एयरवेजमा समेत पटक पटक फोन गरियौँ, केही थाहा भएन पछि मिडियाबाट थाहा भयो राजन र उनका परिवारसँगै विमानमा रहेकाहरु सबैले ज्यान गुमाउनु भएको छ।`
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया