घटना-दुर्घटना

विराटनगरको नाङ्लो रेष्टुरेन्टमा आगलागी

इकागज |
असार ३०, २०७९ बिहीबार १५:२४ बजे

विराटनगर- विराटनगर महानगरपालिका-२ मेनरोडस्थित नाङ्लो मःमः रेष्टुरेन्टमा बिहीबार अपरान्ह आगलागी हुँदा जलेर नष्ट भएको छ । आगलागीकाे कारण नखुलेपछि ग्यास लिक भएर आगो फैलिएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।

इश्वर बाँस्तोलाले चलाइरहेको मौलिक खालको उक्त रेष्टुरेन्ट ‘भेज’ खाजाका लागि विराटनगरमा प्रख्यात छ । रेष्टुरेन्टको अधिकांश पूर्वाधार बाँसले बनेका थिए । परम्परागत रुपमा प्रयोगमा आउने डोको, नाङ्लो लगायतका वस्तुहरू सजाएर बनाइएको उक्त रेष्टुरेन्ट सेल्फी खिच्नेहरूका लागि समेत लोकप्रिय बन्दै गएकाे थियो ।
आगलागीबाट रेष्टुरेन्ट पूर्ण रूपमा जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । आगोको लप्काले जोडिएका घरहरूमा समेत क्षति पुगेको छ । ढिलो गरी पुगेको विराटनगर महानगरपालिकाको दुईवटा दमकलले आगो नियन्त्रणमा लिएको थियो । आगलागीका क्रममा रेष्टुरेन्टभित्र रहेका ग्यासका सिलिण्डरहरू पड्किएका थिए ।


व्यस्त बजारमै आगलागी हुँदा प्रहरी र वारुणयन्त्र ढिलो पुगेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन ।


Author

थप समाचार
x