घटना-दुर्घटना

अछाम पहिरो : मृत्यु  हुनेको संख्या १७ पुग्यो

इकागज |
असोज १, २०७९ शनिबार १३:१३ बजे

महेन्द्रनगर- लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिरोका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ ।    
    
अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत लगिएको छ । उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।    
    
हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमलबजार नगरपालिका–६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ । प्रशासन कार्यालयका अनुसार उक्त वडामा तीन जना पहिरामा परी बेपत्ता छन् । निमित्त प्रजिअ रिजालका अनुसार ढकारी गाउँपालिका–६ मा एकजनाको शव भेटिएको छ भने एक बेपत्ता छन् ।    
    
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले अछाममा पहिरोमा परी मृत्यु भएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीमा प्रहरी परिचालन गरिएको बताए ।    
    
“यकिन विवरण आइसकेको छैन । मृतकको सङ्ख्या बढ्न सक्छ”, उनले भने, “अछामका धेरै ठाउँमा पहिरो गएको खबर छ ।”    
    
त्यस्तै सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने भीमदत्त मार्ग अवरुद्ध भएको छ । अछाममा सञ्चार सेवासमेत अवरुद्ध छ । लगातारको वर्षाका कारण कैलाली र कञ्चनपुर सयौँ परिवार डुबानका कारण विस्थापित भएका छन् । वर्षापछि कञ्चनपुरको मछेली, बनहरा र दोदा नदीको बाढी बस्तीमा पसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।    
    
जिल्लाको वनहरा शिविर, कृष्णपुर नगरपालिकाको तटीय क्षेत्रका वडाहरु, लालझाडी गाउँपालिका–३, शुक्लाफाँटा नगरपालिका–१२, बेलौरी नगरपालिका–५ लगायतमा बाढी घरमा पसेको र डुबान भएको छ ।    
    
प्रहरी उपरीक्षक चौधरीका अनुसार अहिले डुबान परेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । “केही जङ्गलमा बसेका छन् भने कतिपय आफन्तकहाँ आश्रय लिएर बसेका छन्”, उनले भने, “बाढीले शुक्लाफाँटा–१२ दुवाहमा झोलुङ्गे पुलसमेत बगाएको छ ।” जिल्लाभर उद्धारमा सुरक्षाकर्मी खटिएका छन् । “गए राति २ बजेदेखि नै प्रहरी टोली परिचालन गरिएको छ ।”    
    
त्यसैगरी वर्षापछि आएको बाढीका कारण कैलालीको चुरे गाउँपालिका–६ बालकोटस्थित भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । सोही गाउँपालिकाको वडा नं ५ र ६ स्थित भीमदत्त राजमार्गको अन्य पाँच स्थानमा पनि पहिरो जाँदा सडक अवरुद्ध छ ।    
    
कैलालीको भजनी नगरपालिका–८ पथरिया नदीमा बाढी आउँदा सोनाफाटा, दैलेखी, भरतान, जनकपुर र छछरहवा टोल डुबानमा परेको छ । नदीमा पानीको बहाब बढ्ने क्रम जारी छ । वडा नं ५ स्थित कान्द्रा नदीमा पानीको सतह बढ्न गई मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलमा बाढी पसेको छ ।    



Author

थप समाचार
x