घटना-दुर्घटना

जनकपुरका दुई युवाको हत्या :

प्रहरीकै लापरबाहीले भएको भन्दै विरोध प्रदर्शन

गृहमन्त्री र प्रहरी प्रमुखको राजीनामासहित दोषीलाई फाँसी दिन माग

सुभाष कर्ण |
माघ ९, २०७९ सोमबार १६:९ बजे

जनकपुरधाम - प्रहरी प्रशासनकै लापरबाही कारण जनकपुरधामका दुई युवकको अपहरणपश्चात् हत्या भएको भन्दै पीडित परिवारले प्रहरी विरुद्ध विरोध प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् ।

मृतकका परिवारजन र स्थानीय वासीले सोमबार जनकपुरधाम–९ पिडारी चोकमा केही बेर चक्काजाम गरी विरोध प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय पुगेका थिए । उनीहरूले प्रहरी प्रशासनले समयमै एक्सन लिएको भए अपहरित ती युकहरुलाई बचाउन सकिन्थ्यो । तर तिनीहरूको कमीकमजोरी र लापरबाहीका कारण हत्या हुन गएको भन्दै प्रदर्शन गरेका हुन् ।


प्रदर्शनकारीहरूले गृहमन्त्री रवि लामिछाने र धनुषा प्रमुखको राजीनामा, घटनाको निष्पक्ष छानबिन, घटनामा संलग्नहरुलाई फाँसी तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् ।

प्रहरीले आफूहरूलाई पीडित परिवारले अपहरणकारीको फोन कल रेकर्ड नदिएको कारण समयमा बचाउन नसकिएको दिएको बयानप्रति आपत्ति जनाउँदै मृतक परिवार तथा आफन्तहरूले आफूहरू अपहरणकारी सँग भएका हरेक कुराको कल रेकर्ड र घटनामा संलग्नहरूको पहिचान खुलाएर जानकारी दिएपनि समयमा एक्सन नलिँदा हत्या हुन गएको मृतकका काका बजरंग साहले बताएका छन् ।

उनले भने, 'आफूहरूले अपहरणकारीसँग भएको कुराको हरेक कल रेकर्ड तुरुन्त प्रहरीलाई पठाउने गरेपनि अहिले प्रहरीले मिडियामा झुठो बयान दिएर घटनालाई मोड्न थालेको हो ।'

यस्तै मृतकका मामा मुकेश साहले प्रहरीलाई हामीले अपहरण गरेर राखेको लोकेसन, घटनामा संलग्नहरूको पहिचानसहित जानकारी दिएर एक्सन लिन भन्यौँ । तर प्रहरीले बिना तथ्य प्रमाणमा कसरी पक्राउ गर्ने, भारत अर्कौ देश भएको कारण हतपत गर्न नमिल्ने भन्दै आलटाल गर्दै आएको बताए । 'समयमै प्रहरीले एक्सन लिएको भए हाम्रो दुइटै भान्जाको ज्यान जोगिन सक्थ्यो', उनले भने । 

उनीहरुले स्थानीय प्रशासनको लापरबाहीले हत्या भएको आरोप लगाउँदै गृहमन्त्री रवि लामिछाने र धनुषा प्रहरी प्रमुख विश्वराज खड्काको राजीनामा माग्दै घटनामा संलग्न दोषीहरुलाई फाँसी दिन माग गरेका छन् ।

गत दुई साता अघि उनीहरू भारतको बेला परिहारस्थित आफ्ना नातेदार कहाँ जान्छु भनेर पुस २७ गते निस्केका थिए । तर नातेदार कहाँ नपुग्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बस्ने जगदिश साहका २२ वर्षीय छोरा रोहित साह र वडा नम्बर–१३ बस्ने रामबाबु साहका २५ वर्षीय छोरा विष्णु साह भारतको बेला परिहारमा अपहरणमा परे ।

अपहरणकारीले विष्णुका बुवासँग फिरौती बापत ५० लाख रूपैयाँ माग गरेको थियो । तिनीहरूले २० लाख रूपैयाँसम्म दिने सहमत भएका थिए । तिनीहरुलाई सीमावर्ती सर्लाहीको मलंगवामा फिरौती रकम लिएर आउन अपहरणकारीले भने । त्यसपछि अपहरणकारीको मोबाइल स्विच नै रह्यो । एक्कासि आइतबार बिहान अपहरित परिवारले खबर पायो भारत विहार राज्य सितामढी जिल्लाको बेला थाना स्थित पर्सा गाउँमा तिनीहरूको शव फेला परेको छ ।

यता, धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले अपहरणको जानकारी पश्चात् भारतीय प्रहरीसँग समन्वय गरेर स्थानीय प्रशासन खोजतलासमा सक्रिय पूर्वक लागेको जानकारी दिएका छन् । उनले अपहरणकारीले पठाएको रेकर्ड परिवारजनले प्रहरीलाई समयमा जानकारी नदिएको बताएका छन् ।

घटनापश्चात भारतीय प्रहरीले ५ र नेपाल प्रहरीले ४ जना गरी अहिलेसम्म ९ जनालाई पक्राउ गरेको छ । उनले प्रहरी घटनाको नजिक पुगिसकेको छ । चाँडै नै सत्यतथ्य बाहिर ल्याउने बताएका छन् । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x