सहकारीकाे ४८ हजार ऋण तिर्न नसकेपछि आत्महत्या
किस्ता बुझाउनु भन्दै सहकारीले धम्काएपछि तनावमा थिए रामदेव मरिक
प्रतिकात्मक तस्वीर
जनकपुरधाम। सप्तरीमा ऋण तिर्न नसकेर मानसिक तनावले एकजनाले रुखमा झुण्डिएर आत्महत्या गरेका छन् ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ का ४५ वर्षीय रामदेव मरिक घरभन्दा करिब ३ सय मिटर रहेको आँपको रुपमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
दुईवटा वित्तीय संस्थाबाट एक लाख रुपैयाँ ऋण लिएका रामदेवले समयमा सो वित्तीय संस्थाको किस्ता तिर्न नसकेपछि पटक पटकको ताकेताले तनावमा थिए । तनाव सहन नसकी उनी आत्महत्या गर्न बाध्य भएको स्थानीयहरुको भनाइ छ ।
सोमबार राति खाना खाएर सुतेका उनी मंगलबार घरभन्दा ३ सय मिटर दक्षिण–पश्चिममा रहेको आँपको रूखमा झुण्डिएको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
गत वैशाखमा २० वर्षीय छोरा राजकुमार मरिकको विवाह गर्ने बेलामा पत्नी उर्मिलादेवीको नामबाट १३ मंसिर २०७८ मा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाबाट ९० हजार र त्यसपछि महुली लघुवित्त वित्तीय संस्थाबाट १५ हजार रुपैयाँ ऋण लिएको थियो ।
प्रत्येक महिनाको ९ गते किस्ता बुझाउनु पर्नेमा सोमबार उनका पत्नी उर्मिला समूहको बैठकमा नगएपछि संस्थाका कर्मचारी र समूहका सदस्यहरु किस्ता लिन घरमै आएको र मंगलबार जसरी भए पनि किस्ता बुझाउनु भनेर धम्काएर गएपछि गाउँमै ऋण खोज्न थालेका बुवा तनावमा परेको छोरा राजकुमार मरिकले भने ।
उनले भने “ग्लोबलको ४४ हजार ३ सय ३२ रुपैयाँ साँवा र २ सय ७१ रुपैयाँ ब्याज तिर्न बाँकी छ । महुली लघुवित्तको ४ हजार ३ सय ३ रुपैयाँ ९० पैसा तिर्न बाँकी छ ।” किस्ता तिर्न नसक्दा दुवै वित्तीय संस्थाको पटक पटकको ताकेता सहन नसकी आफ्नो बुवा आत्महत्या गर्न बाध्य भएकाे उनले बताए ।
तनावकै कारण आत्महत्या गरेको कुनै कारण अहिले सम्म नखुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेशकुमार सिंहले बताएका छन् । उनले आत्महत्या भएको उल्लेख गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया