घटना-दुर्घटना

तेह्रथुमको आठराईमा भीषण आगलागी : १४ घर जले, एकजना गम्भीर घाइते

बाबुराम भण्डारी |
फागुन १२, २०७९ शुक्रबार २१:१२ बजे

विराटनगर- तेह्रथुमको आठराई गाउँपालिका–६ को मुकाम चुवानडाँडास्थित हात्तिखर्क गाउँमा शुक्रबार साँझ आगलागी हुँदा स्थानीयका १४ वटा घर जलेका छन् । आगलागीबाट एक महिला गम्भीर घाइते भएकी छन् ।

घाइते हुनेमा स्थानीय सनबहादुर तामाङकी श्रीमती याङ्डोल्मा तामाङ रहेकी छन् । उनलाई थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको आठराई–६ का वडाध्यक्ष कृष्णप्रसाद बाँस्कोटाले बताए । आगलागीबाट स्थानीयका गोठमा रहेका पशुचौपाया भने जलेर मरेका छन् ।


मान्छे बस्दै आएका ९ वटा घर जल्दा एक महिने सुत्केरी महिलासहित कुल ४१ जना स्थानीय पूर्ण रूपमा घरविहीन बनेको वडाध्यक्ष बाँस्कोटाले जानकारी दिए । पानीको अत्यन्तै समस्या रहेको हात्तिखर्क गाउँमा आगलागी भएको उनले बताए ।

स्थानीय सोमबहादुर तामाङ, वीरधन घिसिङ, असबहादुर घिसिङ, भक्तबहादुर वाइबा, भिमबहादुर वाइबा, सर्वबहादुर योन्जन, सुरेन्द्र बाइवा, दधिराम वाइबा, दलबहादुर तामाङ,  अमरबहादुर वाइबा, रात्रेबहादुर तामाङ, डिकबहादुर  तामाङ, शंखरबहादुर  योञ्जन र जसबहादुर घिसिङको घर जलेको जनाइएको छ ।
आगलागीबाट मान्छे बस्दै आएका ९ घर र मान्छे बसाई सरेर गएपछि खाली रहेका अरु ५ घरहरू गरी १४ वटा घर जलेको उनले जानकारी दिए । आगलागीबाट स्थानीयका खोरमा रहेका बाख्रा, सुँगुर र कुखुरा जलेर मरेको बताए ।

‘हरेक वर्षजस्तो यो क्षेत्रमा आगलागी हुने हुने गरेको छ, अन्त्यन्तै सुख्खा ग्रस्त क्षेत्र रहेको छ, पानीको अभाव रहेको छ, दमकल जाने अवस्था छैन, बाटो पनि विकट रहेको छ,’ वडाध्यक्ष बाँस्कोटाले भने, ‘९ परिवारमा रहेका ४१ जना विस्थापित भएका छन् ।

उनले शुक्रबार राति ८ बजेसम्म पनि घरहरूमा लागेको आगो पूर्ण रूपमा निभाउन नसकिएको जानकारी दिए । स्थानीयका फुसको छानो भएका घरहरूका कारण असावधानीले एउटा घरमा आगलागी हुँदा बस्ती नै आगलागी भएको उनले बताए ।

‘केही साना गोठहरू पनि जलेका छन्,’ उनले भने, ‘स्थानीयले खोरका पालेका ३५ वटा कुखुरा, १४ खसी बाख्रा र ५ वटा सुँगुर समेत जलेर मरेका छन्, पानीको समस्याले आगो नियन्त्रणमा कठिनाइ भएको छ ।’

गाउँमुनिको जंगलबाट फैलिएको आगो गाउँको बीचमा रहेको माझीटार सामुदायिक वनमा सल्किँदा छेउका घरहरू जलेको जनाइएको छ । पानीको अभावका कारण प्रहरीहरूसँगै मिलेर हरियो स्याउलाले सहायताले आगो निभाउने कोसिस गरिएको तर सम्भव नभएपछि आगलागीको मुकदर्शक बन्नुपरेको स्थानीयले बताएका छन् ।

वडाध्यक्ष बाँस्कोटाले जंगलमा लागेको आगो भने अहिले पनि नियन्त्रणमा छैन । जसका कारण नजिकका अन्य बस्तीहरूमा समेत जोखिम बढेको उनले बताए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x