पाँचथरमा बाढीमा हराएका तीन जना अझै बेपत्ता
पाँचथर - यही असार २ गते राति आएको बाढीमा परी हराएका पाँचथरका तीन जना अझै बेपत्ता छन् । हेवा खोलामा आएको बाढीले बगाएका पाँच जनामध्ये दुई जनाको शव फेला परिसकेको छ । तर बाढीले बगाएका तीन जना हालसम्म बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जानकारी दिए ।
बाढीमा बेपत्ता भएका फिदिम नगरपालिका–५ चोकमागु घर भई हेवाखोलामा गिटी कुट्ने ५५ वर्षीय सुन्दर भनिने राजकुमार राई, हिलिहाङ गाउँपालिका–७ घर भई तल्लो हेवाखोला जलविद्युत् आयोजनामा सुरक्षा गार्डका रुपमा कार्यरत ४५ वर्षीय तिलकुमार तामाङ र हिलिहाङ गाउँपालिका–७ माझीटार घर भई हेवा खोला किनारमा होटल सञ्चालन गर्दै आएका २८ वर्षीय आशिष माझी अझैसम्म फेला नपरेका हुन् ।
बेपत्ताको जिल्लाका सुरक्षा निकायसहित तमोर नदीसँग सीमा जोडिएका तेह्रथुम र धनकुटा जिल्लाबाटसमेत सुरक्षा निकायले खोजीको कार्य गर्दै आएको प्रजिअ मङ्ग्रातीले जानकारी दिए । बाढी र पहिरोका कारण पाँचथरमा हालसम्म तीन जनाको ज्यान गएको छ ।
बाढीले बेपत्ता बनाएकामध्ये हिलिहाङ–७ माझीटारकी २५ वर्षीया एलिसा माझीको शव दुई दिनपछि धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियास्थित तमोर नदीको किनारामा फेला परेका थियो । बाढीले बगाएर बेपत्ता जिल्लाको फिदिम नगरपालिका–१० घर भई तल्लो हेवाखोला जलविद्युत् आयोजनामा सुरक्षा गार्डका रुपमा कार्यरत २८ वर्षीय हेमराज भनिने सञ्जोग लिम्बूको शव कुम्मायक गाउँपालिका–५ लोरिपादोभानस्थित तमोर किनारामा फेला परेको थियो ।
यस्तै पहिरोमा पुरिएर घाइते भएकी पाँचथरको फालेलुङ गाउँपालिका–४ की आठ वर्षीया बालिका जुना सावदेनको उपचारका क्रममा असार ३ गते निधन भएको थियो । पहिराले पुरिएर जुनाकी मावलकी हजुरआमा ६७ वर्षीया रनमाया राई सामान्य घाइते भएको र उहाँको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया