घटना-दुर्घटना

बाढीमा बेपत्ता भएकाको खोजी गर्न कुकुर परिचालन

इकागज |
असार ९, २०८० शनिबार १५:९ बजे

संखुवासभा - सङ्खुवासभामा बाढीपहिरोमा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । यही असार २ गते राति अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण २० जना बेपत्ता भएका थिए । बाढीमा बेपत्ताको एक सातासम्म पनि फेला नपरेपछि तालिम प्राप्त कुकुर परिचालन गरिएको हो । 

नेपाल प्रहरीले धरानबाट ल्याएको तालिम प्राप्त दुई कुकुरले आज बिहान सभाखोलादेखि खोजी थालेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । प्रहरीको तालिम प्राप्त कुकुरले हेवा र सभाखोला किनारमा बेपत्ताको खोजी गर्न थालेको उनले बताए । बाढी पहिरोमा बेपत्ता भएकाको सुरक्षाकर्मीको टोलीले एक सातादेखि खोजी जारी राखे पनि बेपत्ता २० जनाको अवस्था पत्ता नलागेपछि प्रहरीले धरानबाट तालिम प्राप्त कुकुर ल्याएर खोजीलाई तीव्रता दिएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले हेवा खोला र सभाखोला किनार आसपास खोजी गर्नेछ । बेपत्ताको खोजीका लागि हेँवाखोला र सभाखोलाको बगरमा अन्य सुरक्षाकर्मी पनि परिचालित छन्  ।


 बाढी पहिराका कारण जिल्लाका विभिन्न स्थानका २१ परिवार विस्थापित भएका छन् । बाढी पहिरोबाट १२ घर पूर्णरुपमा क्षति भएका छन् । बाढीपहिरोबाट २० मध्ये १६ जना सुपर हेवाखोला जलविद्युत् र एक जना अपर हेवाखोला जलविद्युत् आयोजनाका, एक जना अमर कन्ट्रक्सनका तथा दुई जना सभाखोपरी गाउँपालिकामा बेपत्ता भएका छन् । बाढी पहिरोका कारण जिल्लाका आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षति भएको छ । 
रासस


Author

थप समाचार
x