घटना-दुर्घटना

सवारी दुर्घटना हुँदा मोरङमा दुई जनाको मृत्यु

इकागज |
माघ २०, २०८० शनिबार १९:३० बजे

विराटनगर- मोरङका दुई भिन्नाभिन्नै स्थानमा सडक हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार दिउँसो मोरङको रंगेली नगरपालिका रंगेली–३ रन्जनीस्थित आनन्द इँटा भट्टाभित्र को १ त ८५७८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको हो ।

दिउँसो करिब साढे ३ बजेतिर इँटा भट्टाभित्रै माटो ओसारपसार गर्ने क्रममा इँटा भट्टामा काम गर्ने कामदार भारतको कुचबिहार बंगालका ५५ वर्षीय बिसन्दु मियाँलाई ठक्कर दिएको थियो ।


ट्र्याक्टरको ठक्करबाट मियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । दुर्घटनापछि फरार रहेका ट्रयाक्टर चालक रंगेली–३ रन्जनीका २१ वर्षीय विवश मुर्मुलाई रंगेली प्रहरीले नियन्त्रणमा लिएको छ । मियाँको शव भने पोस्टमार्टमका लागि रंगेलीस्थित रंगेली अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । 

यस्तै, मोरङको लेटाङ नगरपालिकामा दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारका क्रममा आज मृत्यु भएको छ । माघ १४ गते दिउँसो २:५० बजे लेटाङ–२ स्थित भित्री सडकखण्डमा लेटाङबाट बुधबारेतर्फ जाँदै गरेको को २७ प ३७६८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । 

जसमा मोटरसाइकल चालक लेटाङ–३ का २४ वर्षीय राजन राई घाइते भएका थिए । घाइते उनको विराटनगरस्थित विराटनगर नर्सिङ होममा उपचारका क्रममा आज बिहान ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x