साइबर ब्यूरो
शिक्षित युवादेखि अवकाश प्राप्त कर्मचारी अनलाइन ठगीको फन्दामा पर्दै
'दैनिक अनलाइन ठगीसम्बन्धी १५ निवेदन आउँछ'
तस्विरः फाइल फोटो
काठमाडौँ- पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगकर्ता बढेसँगै अपराध र ठगीजन्य कार्य पनि बढ्दै गएको छ । सामाजिक सञ्जालबाट अनलाइन ठगी बढ्दै गएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा दैनिक १५ देखि २० निवेदन पर्न थालेका छन् ।
सामाजिक सञ्जालबाट सम्बन्ध विस्तार गरी विभिन्न बहानामा प्रलोभन देखाइ अनलाइनमार्फत ठगी गर्ने गरिएको ब्यूरोका प्रवक्ता दिपकराज अवस्थी बताउँछन् । अनलाइन ठगी भएको भन्दै दैनिक १५ देखि २० वटासम्म निवेदन पर्ने गरेको उनले इकागजलाई बताए ।
उनका अनुसार उपहार परेको, सामान लिनुपर्ने, विदेशमा भएकाले भिसा प्राप्त गर्न सहजीकरण गर्ने, लुगा उपलब्ध गराउने, कोठा भाडा खोजिदिने र बजारमा उपलब्ध सामान दिने भन्दै ठगीएकाहरूको निवेदन आउने गरेको छ ।
सामान पठाइदिन्छु भनेर पैसा पठाउन लगाउने र केही समयपछि फेसबुक 'डिएक्टिभ' हुने गरेको निवेदनमा उल्लेख हुने अवस्थीले प्रस्ट पारे । पाँच सय, एक हजार, दुई हजारदेखि लाखौं रुपैयाँ ठगिएको भन्दै निवेदन पर्ने गरेको उनले बताए ।
पीडितले आफ्नो जायजेथा तथा सम्पत्ति बिक्री गरेर पैसा बुझाएकाहरूको समेत निवेदन आएको उनले सुनाए । बजार मूल्य भन्दा सस्तो मूल्यमा आइफोन वा अन्य इलेक्ट्रोनिक्स सामान दिने भन्दै ठगी गर्नेको संख्या बढेको भन्दै उजुरी पर्ने गरेको अवस्थीको भनाइ छ ।
‘अनलाइन ठगी पर्नेहरू सबै उमेर समूहका छन् । शिक्षित मानिसहरू, कर्मचारी र अवकाश प्राप्त कर्मचारी पनि ठगिएका छन्,’ प्रवक्ता अवस्थीले भने,’ युवायुवतीदेखि वयस्क उमेर समूहका मानिसहरू अनलाइन ठगीमा परेका छन् । मुख्यतया धेरै मानिसहरू सामाजिक सञ्जाल फेसबुक र टिकटकबाट ठगिने गरेका छन् ।‘
विदेशमा बसेर चलाएको र त्यताको आइपी आईडी देखिने उनको भनाइ छ । उनीहरूको सम्बन्ध नेपालमा रहेको पाइएको उनले बताए । ‘मुख्य अपडेट सबै विदेशबाट हुने गरेको छ,’ उनले भने ।
नेपालीको बैंक खाताबाट पैसा गएकाले खाताबाहकलाई निगरानी गरी सोधपुछ गर्ने गरेको प्रवक्ता अवस्थीले बताए । पैसा आउनुपर्ने हो भने के कति कारणले आउनु पर्ने हामीले सोधपुछ गर्छौ,’ उनले अगाडि थपे ।
नेपालको भारतीय सीमाबाट पैसा निकालेर गएको अनुसन्धानमा पाइएको उनले जानकारी दिए । ठगले एटीम र चेकबाट पैसा झिकेर लैजाने गरेको पाइएको उनले बताए ।
चेतनाको कमीले धेरै मानिसहरू ठगिने गरेको अवस्थी बताउँछन् । सामाजिक सञ्जालमा पीडकसँग निरन्तर बोल्नेहरू ठगीमा पर्ने गरेका उनले जानकारी दिए । 'पीडितलाई पैसा फिर्ता दिलाउने कोशिश गरिरहेका छौ,’ उनले सुनाए,’ अनलाइन ठगीको अनुसन्धान गर्ने समय एक वर्षसम्म हुन्छ ।‘
त्यसैगरी, सामाजिक सञ्जालको प्रयोग बढेपछि ह्ययाकिङको पनि संख्या बढ्दै गएको छ । विभिन्न व्यक्ति तथा संस्थाको आईडी ह्ययाकिङको समस्या बढिरहेको अवस्थीले बताए ।
विभिन्न मुलुकबाट फेसबुक ह्ययाक हुने गरेको उनले जानकारी दिए । नेपालभन्दा बाहिरबाट ह्ययाक भएकाले ब्यूरोले केही गर्न नसकेको अवस्थीको भनाइ छ । ह्ययाक भएका आइडी रिकभर र डिलेट गर्न नसक्ने अवस्थामा रहेको उनले जानकारी दिए । ‘ह्ययाक भएको आइडीलाई रिकभर गर्न प्रयास गरिरहेका हुन्छौ,’ उनले अगाडि थपे ।
साइबर अपराधमा कस्ता कानुन आकर्षित हुन्छन् ?
विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद-९ मा उल्लेख गरिएका अपराधहरू साइबर अपराध अन्तर्गत पर्छन् । दफा ४६ मा उल्लेख भएअनुसार कुनै संस्थालाई गलत तरिकाले हानी नोक्सानी पुर्याउनका लागि कम्प्युटरमा रहेको कुनै सूचनालाई नष्ट गरेमा, क्षति पुर्याए वा मेटाएमा र हानिकारक प्रभाव पारेमा कसुर गर्ने व्यक्तिलाई दुई लाखसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै हुन सक्छ ।
दफा ४७ मा उल्लेख भएअनुसार सार्वजनिक रुपमा नैतिकता शिष्टाचार विरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गरेमा, कसैप्रति घृणा वा द्वेष फैल्याउने वा कम्प्युटर वा इन्टरनेटको प्रयोगबाट विभिन्न सामाजिक सञ्जाल मार्फत सार्वजनिक जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गरेमा, महिलालाई जिस्काउने, हैरानी गर्ने, अपमान गर्ने वा अर्मयादित कार्य गरेमा र गर्न लगाएमा साइबर अपराध गरेको मानिने छ ।
यस्ता अपराध गर्ने व्यक्तिलाई १ लाख रूपैयाँ जरिवाना र पाँच वर्षसम्म कैद गरिने वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया