घटना-दुर्घटना

पाँच वर्षमै चट्याङले लियो तीन सय ५३ जनाको ज्यान

दुर्गा आचार्य |
जेठ ८, २०८१ मंगलबार १६:० बजे

काठमाडौँ - चट्याङको मौसम सुरु भएको छ । १२ महिना नै चट्याङ पर्ने भएपनि चैत, वैशाख र जेठलाई बढी चट्याङ पर्ने महिनाका रुपमा मानिन्छ । वर्षा लागेपछि पनि चट्याङ परेको पाइन्छ ।  चट्याङ लागेपछि मानिस, पशु-चौपायहरूले अकालमै ज्यान गुमाउन पुग्छन् । घाइते मात्रै भएमा पनि त्यसले जीवनभर दुख दिन्छ र विभिन्न समस्या भोग्नुपर्ने हुन्छ । 

चट्याङ विशेषज्ञका अनुसार चट्याङबाट घाइते हुने धेरैमा विभिन्न मानसिक र शारीरिक दीर्घरोग देखा पर्छन् ।  कोही बेहोस हुन्छन्, कसैको बोली, कान र आँखा बन्द हुने, स्मरण शक्तिमा ह्रास आउने, शरीर लाटो हुने, रिँगटा लाग्ने, जोर्नी कडा हुने, मांसपेशी बाउँडिने, डिप्रेसन आदि हुन्छ । 


चट्याङ प्राकृतिक विपत्ति हो । यसका कारण वर्षेनी ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो पाँच वर्ष (२०७६ वैशाख १ देखि २०८१ वैशाख ३०) मा चट्याङका कारण तीन सय ५३ जनाले ज्यान गुमाएका छन् । 

चट्याङका कारण १ हजार ३ सय १ जना घाइते भएका छन् । ३ हजार ५ सय ९५ पशुचौपायाको मृत्यु भएको छ । ३९ वटा पूर्वाधारहरूमा क्षति पुर्याउँदा अनुमानित ५ करोडको क्षति भएको छ ।

प्रदेशगत रुपमा हेर्ने हो भने चट्याङका कारण कोशी प्रदेशमा सबैभन्दा धेरैले ज्यान गुमाएका छन् । कोशीमा ८० जनाले चट्याङका कारण ज्यान गुमाएका छन् भने सबैभन्दा कम कर्णालीमा २७ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेशमा ४३ जनाको चट्याङका कारण मृत्यु भएको छ । १ सय ५५ जना घाइते भएका छन् । ८९ पशुचौपायहरूको मृत्यु भएको छ भने ७० लाख आर्थिक क्षति भएको छ । 

कोशी प्रदेशमा ८० जनाले चट्याङका कारण ज्यान गुमाएका छन । २ सय ४६ जना घाइते भए भने ४ सय १४ पशुचौपायको मृत्यु भएको छ । १२ पूर्वाधारमा क्षति पुगेको छ । ३ करोड आर्थिक क्षति भएको छ । 

यस्तै मधेश प्रदेशमा गत पाँच वर्षमा ६२ जनाले ज्यान गुमाएका छन् । ८७ जना घाइते भएका छन् भने ३९ वटा पशुचौपायको ज्यान गएको छ । ३ पूर्वाधारमा क्षति पुग्दा ५७ लाख आर्थिक क्षति व्यहोर्नुपरेको छ । 

गण्डकी प्रदेशमा ३२ जनाले ज्यान गुमाएका छन् भने १ सय ५९ जना घाइते भएका छन् । ३ सय ५३ पशुचौपायको मृत्यु भएको छ भने ४ पूर्वाधारमा क्षति पुगेको छ । ४५ लाख आर्थिक क्षति भएको छ । 

लुम्बिनी प्रदेशमा ६८ जनाको मृत्यु भएको छ । २ सय ३८ जना घाइते भएका छन् । १ सय ८१ पशुचौपायमा क्षति पुगेको छ । ७ वटा पूर्वाधारमा क्षति पुग्दा ६१ लाख आर्थिक क्षति भएको छ । 

चट्याङका कारण कर्णाली प्रदेशमा २७ जनाले ज्यान गुमाएका छन् । २ सय १५ जना घाइते भएका छन् । १ हजार ६ सय १ पशुचौपायको मृत्यु भएको छ । ४ पूर्वाधारमा क्षति हुँदा ११ लाख आर्थिक क्षति भएको छ । 

सुदूरपश्चिम प्रदेशमा ४१ जनाले चट्याङका कारण ज्यान गुमाएका छन् । २ सय १ जना घाइते भएका छन् ९ सय २० पशुचौपायको मृत्यु भएको छ भने ४ पूर्वाधार क्षति पुग्दा २४ लाख आर्थिक क्षति व्यहोर्नुपरेको छ । 

चट्याङ किन पर्छ ?
चट्याङ प्राकृतिक विपत्ति हो । वायुमण्डलमा देखापर्ने एक किसिमको बिजुलीको धार हो । यो आकाशबाट पृथ्वीको सतहतिर प्रवाहित हुन्छ । जब वायुमण्डल अस्थिर हुन्छ र आकाशमा कालो बाक्लो बादलहरू बन्छन् । त्यस्तोमा जमिनको सतहको तातो हावा उठेर माथिको चिसो हावासँग ठोकिन्छ, त्यसपछि बिजुली चम्किने गर्छ ।

बिजुली चम्किँदा ठूलो मात्रामा विद्युतीय शक्ति निस्कन्छ र यो बादलबाट हावा हुँदै जमिनको सतहमा आउँछ । त्यस्तै, बिजुली चम्किँदा उत्पन्न भएको विद्युतीय शक्ति छिटो तातेपछि त्यसले ठूलो आवाजमा मेघगर्जन हुन्छ ।

चट्याङ पर्दा विद्युतको धार आकाशबाट पृथ्वीको सतहतिर प्रवाह हुन्छ । यसले कुनै मानिस वा प्राणीलाई लाग्यो भने उनीहरुको मृत्यु समेत हुनसक्छ ।

चट्याङबाट बच्न के गर्ने ? 
चट्याङ प्राकृतिक खतरा हो । यसलाई टाल्न सकिँदैन । तर यसबाट जोगिन विभिन्न उपायहरू अपनाउन भने सकिन्छ । यदि तपाई चट्याङ पर्दा घरभित्र हुनुहुन्छ भने निम्न सतर्कताका उपायहरू अपनाउन सक्नुहुन्छ । 
– विद्युतीय सामाग्रीहरू जस्तैः टिभी, कम्प्युटर, फ्रिज, वासिङ्ग मेसिन बन्द गर्ने ।
– झ्याल ढोका बन्द गरी घरको भित्तादेखि टाढै बस्ने ।
–अत्यावश्यक अवस्थामा बाहेक मोबाइल वा कर्डलेस फोन प्रयोग नगर्ने ।
–घर बाहिर ननिस्कने ।
– तारसहितको टेलिफोन प्रयोग गरी कुरा नगर्ने ।

घरबाहिर हुनुहुन्छ भने निम्न सतर्कता अपनाउन सकिन्छ । 
– आकाशमा बिजुली चम्किन र गड्यागुडुङ गर्न थालेपछि घरभित्र बस्ने ।
– पक्की घर वा गाडी नजिक छ भने घर वा गाडीभित्र झ्याल ढोका बन्द गरी बस्ने ।
– खुल्ला मैदानमा भए दुई घुँडा बीच टाउको लुकाई टुक्रुक्क बस्ने ।
– नजिक घर छैन भने तुरुन्तै सुरक्षित स्थानमा ओत लाग्ने तर रूख वा बिजुलीको पोलमुनि कहिल्यै नबस्ने । खेतबारीमा काम नगर्ने ।
– पौडी खेल्ने, माछा मार्ने,  र्‍याफ्टिङ गर्ने जस्ता क्रियाकलाप नगर्ने ।
– धातुको तारबारको नजिक नबस्ने

हेर्नुहाेस् भिडियो 


Author

थप समाचार
x