घटना-दुर्घटना

ऋण र प्रेममा डुबेका प्रहरी जवानहरू आत्महत्याको बाटोतिर

प्रहरीमा वर्षेनी आत्महत्या गर्नेको संख्या बढ्दै

अतिन आचार्य |
असार ६, २०८१ बिहीबार १५:१४ बजे

घटना १-

गत बिहीबार जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत महिला प्रहरी करिश्मा सुनुवार झुन्डिएको अवस्थामा फेला परिन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सुनुवार जेठ ३१ गते करिब २ बजे आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । 


घटना २ -  

बुधबार बिहान नयाँ बानेश्वरस्थित संसद्‌ भवनको ड्युटीमा खटिएका दोलखाको मेलुङ गाउँपालिका-४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले आत्महत्या गरे । गोले आफैंले बोकेको इन्सास राइफलले आफैंलाई गोली हानी आत्महत्या गरेको प्रहरी अधिकारीहरूले निष्कर्ष निकालेका छन् ।

उनको शव बुधबार बिहान संसद्‌ भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो । सवा ८ बजे उनी मृत अवस्थामा फेला परेका थिए ।

नेपाल प्रहरीमा आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१ जेष्ठ सम्म विभिन्‍न तहका ३६ जना कर्मचारीले आत्महत्या गरिसकेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पुरुष ३३ र महिला प्रहरी ३ जनाले आत्महत्या गरेका छन् ।

प्रहरीका विभिन्‍न तहका जस्तै प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार,  प्रहरी सहायक हवल्दार, प्रहरी जवान  र प्रहरी कार्यालय सहयोगीले आत्महत्या गरेको खुलेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा ७ जना पुरुष प्रहरीले आत्महत्या गरेका छन् । २०७७/०७८ मा ४ पुरुष प्रहरी,२०७८/०७९ मा ८ पुरुष प्रहरी, २०७९/०८० मा ६ पुरुष प्रहरी, १ महिला प्रहरी र २०८०/०८१ जेठ सम्म ८ पुरुष प्रहरी र २ महिला गरी १० जना प्रहरीले आत्महत्या गरेका छन् ।

सबैभन्दा बढी १९ जना प्रहरी जवानले आत्महत्या गरेका छन् । ६ जना हवल्दार, ५ सहायक हवल्दार,  २ कार्यालय सहयोगी, प्रसनि २, प्रबनानि १ र प्रबउ १ जनाले आत्महत्या गरेका छन् ।

एक साता नपुग्दै नेपाल प्रहरीका दुई सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । सुरक्षाकर्मी नै आखिर किन आत्महत्याको बाटो रोज्छन् ? अहिले यहीँ प्रश्‍न नेपाली समाज र प्रहरी संगठन भित्र सबैभन्दा बढी पेचिलो बन्दै गएको छ ।

समाजमा आत्महत्या जस्तो घटनाहरू न्यूनीकरण गर्नुपर्छ भनेर चेतना फैलाउँदै हिँड्नेहरू नै किन मृत्यु रोज्‍न बाध्य छन् ? प्रहरी संगठनभित्र वर्षेनी आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । विभिन्‍न समयमा प्रहरी अधिकृतदेखि तल्लो तहका प्रहरीहरूले आत्महत्या गरेका घटना सार्वजनिक भइसकेका छन् ।

तर रोचक पक्ष भनौँ या गम्भीर आत्महत्या गर्नेहरूको संख्यामा पुरुष प्रहरीहरू नै बढी रहेका छन् । नेपाल प्रहरीको केन्द्रीय कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार महिलाको तुलनामा १० गुणा बढी पुरुष प्रहरीले आत्महत्या गरेका छन् ।

किन प्रहरीहरू आत्महत्या गर्छन्?

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले प्रहरीले आत्महत्या गर्नुको कारण डिप्रेसन, व्यक्तिगत सम्बन्ध, पारिवारिक सम्बन्ध, प्रेमिल सम्बन्ध, रोग लागेर उपचार निको नहुने अवस्था र आवेशमा आएर पनि आत्महत्या हुने गरेको बताए ।

आर्थिक कारण पनि मुख्य एक कारण भित्र पर्ने गरेको उनको भनाइ छ । जग्गा वा घर निर्माण गर्दा लागेको ऋण तिर्न नसक्दा यस्तो घटना भइरहेको प्रवक्ता कार्की बताउँछन् ।

‘अहिलेको सन्दर्भमा मानिसहरूमा धेरै आकांक्षा बढिरहेको छ । आशा गरेको भन्दा यथार्थमा फरक परिणाम निस्कने हुँदा यस्ता घटना वृद्धि भइरहेका छन्,’ उनी भन्छन्,’ आत्महत्या जस्तो घटना प्रहरी संगठनमा मात्र नभइ समाजमा पनि बढिरहेको छ । यस्ता घटना दिनप्रतिदिन बढिरहेकाले प्रहरी संगठन भित्र पर्नु स्वभाविक छ ।‘

कार्कीले प्रहरी कर्मचारीलाई समय-समयमा काउन्सिलिङ गर्न अस्पतालमा लैजाने गरिएको उल्लेख गरे । मानसिक रुपमा केही कुराको समस्या नहोस् भनेर छुट्टै चिकित्सकको व्यवस्था गरिएको उनले जानकारी दिए ।

प्रहरी भित्र गरिबी न्यूनीकरण गर्न शिक्षामा लगानी गरिएको उनले बताए । प्रहरीका सन्तानलाई शिक्षा दिन प्रहरी स्कुल खोलिएको उनले प्रस्ट पारे ।

प्रहरी संगठनमा रहेका कर्मचारीहरूको गरिबी निवारण गर्न कार्की कल्याणकारी कोष खडा गरिएको तथा विभिन्‍न छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको सुनाउँछन् । प्रहरी संगठनभित्र शिक्षा र स्वास्थ्य जस्ता समस्या समाधान गर्न प्रहरी कल्याणकारी कार्यक्रम अगाडि बढाइसकेको उनले प्रस्ट पारे ।

'आत्महत्याको ८५ प्रतिशत घटनामा मानसिक स्वास्थ्यको समस्या'

मानसिक अस्पताल पाटनको निर्देशक तथा मनोचिकित्सक डा. अनन्त अधिकारी प्रहरी एउटा पेशा रहेको र त्यो भन्दा माथि उ पनि आम मानिस रहेको बताउँछन् । समग्रमा जुनसुकै मानिसहरूको मानसिक स्वास्थ्यलाई हेर्नुपर्ने धारणा राख्‍नुपर्ने उनले बताए ।

‘समग्रमा एक जना नेपालीले आत्महत्या गरेको बुझ्नुपर्छ,’ उनले भने,’ मानिस आफू जुन अवस्थामा रहेको समयमा जस्तो माध्यम भेट्छ त्यसैलाई प्रयोग गरेर सिध्याउने प्रयास गर्ने गरेको छ ।‘ प्रहरीसँग अधिकांश समय हतियार रहने भएकाले हतियार प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

‘आत्महत्याको ८५ प्रतिशत घटनामा मानसिक स्वास्थ्यसँग जोडिएको हुन्छ,’ उनले इकागजसँग भने,’ आवेगमा आएर आफूलाई हानी गर्नु पनि मनोविचलन रहेको मानिन्छ । मानसिक स्वास्थ्य कमजोर भएर आत्महत्याको प्रयास गर्छन् ।‘

डिप्रेसन भएर पनि मानिसले आफूलाई सिध्याउने गरेको उदाहरण पाएको डा. अधिकारीले बताए । मानिसका जैविक, मनोविज्ञान, सामाजिक कारण र पेशागत सम्बन्धका कारण मानिसहरू आत्महत्या गर्न आकर्षित हुने उनको दाबी छ ।

धेरै आत्महत्या गर्ने मानिसहरूमा मनोसामाजिक समस्या रहेको डा. अधिकारीको भनाइ छ । अल्कोहल सेवन गर्नेहरूमा मानसिक विचलन आइ आत्महत्या गर्ने गरेको घटना सार्वजनिक भएको उनले प्रस्ट पारे ।

‘मानसिक स्वास्थ्यका कारण मानिसलाई निराशा बनाइ उसले आत्महत्या गर्ने गर्छ,’उनी थप्छन्,’ मानिसहरूलाई आत्महत्याबाट रोक्न हामीले मनोपरामर्श गराउने र उसले भएका कुराहरू अगाडि प्रस्टसँग खोल्नुपर्ने हुन्छ ।‘

मानसिक स्वास्थ्यले महिला वा पुरुष केही भनेर नछुट्याउने डा. अधिकारीले बताए । उनका अनुसार तथ्यांकमा महिलाले आत्महत्याको प्रयास बढी गर्छन् । पुरुषले आत्महत्याको सोच आउन साथ गरिहाल्ने गरेको तथ्यांकले बताएको छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x