घटना-दुर्घटना

बाढीमा बगेर कैलाली र कञ्चनपुरमा दुई जना बेपत्ता

इकागज |
असार २४, २०८१ सोमबार ११:१६ बजे

फाइल फोटो

सुदूरपश्चिम - वर्षासँगै नदीमा आएको बाढीमा बगेर कैलाली र कञ्चनपुर जिल्लामा दुई जना बेपत्ता भएका छन् ।

प्रदेश प्रहरी कार्यालय धनगढीले कैलालीको कैलारी गाउँपालिका–९ गदरिया गाउँको भुर्रा नदीमा डुबेर आइतबार साँझ सोही ठाउँका १८ वर्षीय अजय राना बेपत्ता भएका छन् । नुहाउने क्रममा डुबेर बेपत्ता भएका रानाको प्रहरीले खोजी गरिरहेको छ ।


यस्तै आइतबारनै कञ्चनपुरको बेलडाँडी गाउँपालिका––३ का २३ वर्षीय डम्मर चौधरी नजिकै रहेको चौदर नदीमा डुबेर बेपत्ता भएका छन् । नदीमा माछा मार्न गएको बेला चौधरी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले खोजी गरिरहेको छ ।

शनिबार डडेलधुरा पर्शुराम नगरपालिका–३ का ५६ वर्षीय नवराज पनेरुको पहिरोमा पुरिएर मृत्यु भएको थियो । गाउँ नजिकैको भातगडा भन्ने ठाउँमा रहेको खानेपानीको मुहान सरसफाइ गर्ने क्रममा माथिबाट खसेको पहिरोमा परी पनेरुको घटनास्थलमै मृत्यु भएको थियो । 

अविरल वर्षासँगै ती दुई जिल्लाका विभिन्न नदी र खोलाको जल सतह बढेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचना गरेको छ ।


Author

थप समाचार
x