पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
फाइल फाेटाे
तनहुँ - तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण आज बिहान विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा, व्यास नगरपालिका–१२ घाँसीकुवा, म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
याम्यामा बिहान ४ बजे गएको पहिरो हटाइए पनि रुख ढलेर पुन: राजमार्ग अवरुद्ध भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को निर्माण कम्पनीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
यस्तै बन्दीपुर गाउँपालिका–५ नयाँपुल नजिकसमेत पहिरोले सडक अवरुद्ध भएको छ । पहिरोका कारण व्यास –१२ कमलबारी नजिकसमेत बाटो अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । यस्तै व्यास–१२ घाँसीकुवामा पहिरो खस्दा यो खण्डसमेत अवरुद्ध भएको छ । पहिरोका कारण सडक छेउ रहेका मेसिन समेत केही पुरिएको छ । डोजरलगायतका मेसिन पुरिएर बाहिर निकाल्न नपाउँदा अन्यत्र पहिरो पन्छाउन जान सकिएको छैन । यस्तै म्याग्दे –६ मौरीओडारमा समेत पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको छ ।
त्यस्तै वर्षाका कारण बुल्दीखोला बस्तीमा पस्दा तनहुँको व्यास–४ तल्लो सिमलटारका ४० घर डुबानमा परेका छन् । बुल्दीखोलामा आएको बाढीले खोला बस्तीमा पस्दा तल्लो सिमलटारका करिब ४० घर डुबानमा परेका हुन् ।
बुल्दीखोलाको बाढीले यहाँका घरका तल्लो कोठा र सटरमा रहेका सामग्री बगाएको स्थानीय श्रीराम कार्कीले जानकारी दिनुभयो । रातिको समयमा आएको बाढीका कारण मानवीय क्षति नभए पनि आर्थिक नोक्सानी भएको उनको भनाइ छ ।
उनले भने, 'खोला पसेर घरको तल्लो कोठा र सटरमा रहेका सरसामान, फर्निचरलगायतमा ठूलो क्षति पुगेको छ । मानवीय जोखिम रहँदा हारगुहार गरी ज्यान बचाउन सफल भइएको छ । बस्ती जोखिममा रहेकाले सुरक्षित गर्न तुरुन्तै उच्च तारबार बलियो बनाउनुपर्ने अवस्था आएको छ ।'
कृष्णपुरको कजवे भत्काएर बेलिब्रिजको व्यवस्थापन गर्न र बस्ती सुरक्षित गर्न आवश्यक रहेको उनले बताए । स्थानीय सोमबहादुर आलेले बाढीका कारण घरको तल्लो तल्लामा क्षति पुगेको जानकारी दिए । उनले भने, 'बिहान अचानक बाढी आउँदा सबै भागाभाग भयो, अधिकांश घरमा बाढी पसेर क्षति पुगेको छ ।' जिल्ला प्रहरी कार्यालय तनहुँले क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया