घटना-दुर्घटना

सिमलताल दुर्घटना: बस र यात्रु खोज्न आएको भारतीय टोली फर्किदै

इकागज |
साउन १३, २०८१ आइतबार १०:१६ बजे

चितवन - चितवनको सिमलतालमा त्रिशुलीमा खसेको दुई वटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।

बस बेपत्ता भएको आज १७ दिन पुगेको छ । नेपाली र भारतीय टोलीले गरेका खोजीका सबै प्रयास असफल भएसँगै बस खोजीका लागि आएको भारतीय टोली आज फर्किँदै छ ।


नेपाली टोलीले अब कसरी खोजी कार्य अगाडि बढाउने भन्ने विषयमा छलफल गर्ने तयारी गरेको छ ।

यस अघि भारतीय उद्धार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी गर्ने क्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको थियो । भारतीय टोलीले शनिबार १९ केजी र १४ केजीको दुई वटा चुम्बक प्रयोग गरेर खोजी गरेको थियो । 

यसैबीच शनिबार साँझ चितवनको केराबारीमा नदीको बीचमा रातो बस जस्तो वस्तु देखिएको स्थानीयले बताएपछि सुरक्षाकर्मी त्यता गएको थियो ।  सुरक्षाकर्मीहरूले सो वस्तु बस नभएको बताएका छन् ।   

असार २८ गते लेदोसहितको पहिरोले बगाएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । बसमा रहेका ६२ यात्रु मध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ । 


Author

थप समाचार
x