घटना-दुर्घटना

बोलबम यात्री सवार ट्याक्टर दुर्घटना : घाइते महिलाको उपचारका क्रममा मृत्यु

इकागज |
साउन २०, २०८१ आइतबार १८:५१ बजे

बरहथवा (सर्लाही)- बोलबम यात्री सवार ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु छ । 

आज सर्लाहीको मलङ्गवा नगरपालिका–१२, स्थित नहरमा बोलबमका भक्तजन सवार ज २ त ३२७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका थिए । त्यसमध्ये गम्भीर घाइते सर्लाहीको चक्रघट्ट गाउँपालिका–५, निवासी ४५ वर्षीया पतही देवीको वीरगञ्जस्थित एनएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । 


दुर्घटनामा परेर गम्भीर घाइते भएकी पतही देवीलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपश्चात थप उपचारका लागि वीरगञ्जस्थित एनएमसी अस्पताल पुर्याइएको थियो ।

घटनामा घाइते भएका चार जना चक्रघट्ट गाउँपालिका–५ की २६ वर्षीया शान्ति देवी, उनकी नौ वर्षीया छोरी सुस्मिता देवी, ४० वर्षीया गीता देवी र मृतक पतही देवीकी छोरी ११ वर्षीया अंशुकुमारीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

तीव्र गतिमा रहेको ट्रयाक्टर अनियन्त्रित भई नहरमा खसेर दुर्घटना भएको जनाइएको छ । दुर्घटनालगत्तै ट्रयाक्टर चालक फरार भएका प्रहरीले जनाएको छ । भारतको मढीयामा जल चढाएर सर्लाहीको चक्रघट्ट फर्किँदै गर्दा दुर्घटना भएको थियो ।


Author

थप समाचार
x