घटना-दुर्घटना

बागलुङ पहिरोमा परि आठ जनाको मृत्यु, १० जना घाइते (अपडेट)

इकागज |
साउन २२, २०८१ मंगलबार १९:३१ बजे

तस्बिर - नेपाल प्रहरी

काठमाडौँ - बागलुङमा पहिरोले पुरिँदा आठ जनाको ज्यान गएको छ ।

मंगलबार बिहानको बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटाका ६ जना र बडिगाड–९ बलघाँसमा २ गरि आठ जनाको ज्यान गएको बागलुङ प्रहरीले जानकारी दिएको छ । पहिरोमा दुई जना बेपत्ता छन् भने १० जना घाइते भएका छन् । सडक संजाल अवरुद्ध रहेको र मौसमको प्रतिकूल अवस्थाको कारण हवाई उद्धार समेत हुन नसकेकोले स्थानीय स्वास्थ्य चौकीमा उनीहरूको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रहरीका अनुसार बडिगाड–१० आरुपाट बस्ने बर्ष ७ की मालती बुढा, ७ वर्षिया मधु बुढा, ६ महिनाकी बालिका, वर्ष १२ का मनोज बुढा, वर्ष १२ का अमन बुढा र बर्ष ५९ की मैतीदेवी बिको पहिरोमा परेर मृत्यु भएको छ ।  

त्यस्तै बडिगाड–९ बलघाँसका १५ वर्षीय बिदान परियारको पनि पहिरोमा परेर ज्यान गएको छ। पहिरोले स्थानीय श्याम परियारको घरलाई पुरेको थियो, त्यही पहिरोमा परेर छोरा विदान परियारको ज्यान गएको प्रहरीले जनाएको छ ।  

त्यसैगरी बडिगाड–९ दर्लिङ काभ्राखर्कका २४ वर्षका गंगा बस्नेतको पहिरोले पुरिएर ज्यान गएको छ । बाटोमा हिँडिरहेका उनलाई माथिबाट पहिरो खसेर पुरेको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार बुर्तिबाङबाट करिब ४० किलोमिटर टाढाको उक्त गाउँमा बिहान ११ बजेतिर पहिरो झरेको थियो । बिहान घटना भएपनि बाटोको असहजता र ठाउँठाउँमा पहिरो झरेकोले दिउँसो चार बजे मात्र प्रहरी घटनास्थल पुगेको थियो ।


Author

थप समाचार
x