घटना-दुर्घटना

'फुड पोइजन' हुँदा बारामा तीन बालबालिकाको मृत्यु

इकागज |
साउन २८, २०८१ सोमबार १६:४७ बजे

सांकेतिक फोटो

रौतहट - फुड पोइजन हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।

 सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारको तीन जना नाबालक छोरा छोरीको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी दीपक सापकोटाले जानकारी दिए । 


छिमेकी राजदेव रामका अनुसार आइतबार राति नरेश राम चमारको छोरीहरू क्रमशः ९ वर्षीया लालीमा राम,७ वर्षीया पुष्पा राम तथा ५ वर्षीय छोरा कृष्णनन्दन राम माछा भात खाएर सुतेका थिए।

केही समयपछि तीनै जना बालबालिकाको स्वास्थ्य अवस्था बिग्रेपछि स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारको लागि जिल्ला अस्पताल कलैया लैजाँदा उपचारको क्रममा मृत्यु भएको छिमेकी रामले जानकारी दिए । 

जिल्ला प्रहरी प्रवक्ता सापकोटाले घटनाको पुष्टि गर्दै मृतक तीनै जना बालबालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको बताए । 

घटना बारे अनुसन्धान भइरहेको तथा थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।


Author

थप समाचार
x