घटना-दुर्घटना

कटारीका आमा–छोरा हत्या प्रकरणका आरोपित १५ दिनमा सार्वजिनक

इकागज |
असोज ४, २०८१ शुक्रबार १८:१४ बजे

काठमाडौँ - उदयपुरको कटारी नगरपालिका १० सोरुङ्गछविसेका आमा–छोरा हत्या प्रकरणका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ ।  ​

करिब १५ दिनको लामो अनुसन्धानपछि प्रहरीले आरोपितलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।  शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक हरीहर नाथ योगीले ‘घटनाको सूक्ष्म अध्ययनपछि प्रहरीले आमा–छोरा हत्या प्रकरणका आरोपितलाई पक्राउ गर्न सफल भएको बताए ।


गत भदौ २० गते बिहान पसल भएको घरमा मृत अवस्थामा फेला परेका आमा छोराको हत्या स्थानीय ३२ वर्षका तारा बहादुर मगरबाटै भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । अभियुक्त तारा बहादुर मगरले धारिलो हतियार प्रयोग गरी घाँटी तथा शरीरको अन्य भागमा समेत प्रहार गरी विभत्स तरिकाले कर्तव्य गरी हत्या गरेको ब्यहोरा खुलेको प्रहरीले जनाएको छ ।

प्रतिवादी मगरको नाममा किटानी जाहेरी दरखास्त समेत परेको हुँदा प्रतिवादीलाई उदयपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको एसपी हरिहर नाथ योगीले जानकारी दिए । 

कटारी नगरपालिका १० सोरुङछबिसेमा ३७ वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुसलाई आरोपितले धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । श्रीमान् अशोक थापा ३ वर्षअघि गाउँकै राई थरकी एक महिलासँग दोस्रो विवाह गरेर भारतको राजस्थान पलायन भएका कारण निर्मला गाउँमै सामान्य होटल र किराना पसल चलाउँदै छोरासँग बस्दै आएकी थिइन् ।


Author

थप समाचार
x