घटना-दुर्घटना

झापामा भारी वर्षा, मरखुट्टा खोलाले बगायो मोटरसाइकल

इकागज |
असोज ११, २०८१ शुक्रबार १९:२५ बजे

तस्विरः फाइल फोटो

भद्रपुर (झापा)- झापामा गए रातिदेखिको अविरल वर्षाले नदी तथा खोलामा पानीको जलसतह बढ्न थालेको छ । अत्यधिक वर्षा भएपछि स्थानीय प्रशासन सम्भावित क्षति हुनबाट बचाउन तयारी अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताए ।

उनका अनुसार नदी, खोला किनार तथा डुबान हुने स्थानमा निगरानी तथा सतर्कता अपनाइएको छ । “पानी निरन्तर परिरहेको छ”, उनले भने, “कन्काई, विरिङ, रतुवा, मेचीलगायतका नदीमा पानीको सतह बढदै गएको छ ।”


वडादेखि पालिकासम्मका जनप्रतिनिधि नेतृत्वको विपत् प्रतिकार्य टोलीसमेत तयारी अवस्थामा रहेको सहायक प्रजिअ नेपालले बताए । यसैबीच कचनकवल गाउँपालिका–२ स्थित अमरखुट्टा खोला तर्ने क्रममा आज दिउँसो प्र १–०२–००५ प ६९७८ नम्बर प्लेट भएको मोटरसाइकल खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकल चालक सोही ठाउँ बस्ने वर्ष २७ का रवीन भट्टराई भने सकुशल छन् । वर्षाले उडान अवरुद्ध झापाको चन्द्रगढी विमानस्थलमा गए रातिदेखिको अविरल वर्षाका कारण हवाई उडान प्रभावित भएको छ ।

शुक्रबार कुनै पनि उडान तथा अवतरण नभएको विमानस्थलका सूचना अधिकारी वीरेन्द्र भट्टराईले जानकारी दिए ।  आज दिउँसो केही समयका लागि विमानस्थल खुले पनि फेरि बन्द भएको उहाँले बताए । विमानस्थल मौसम विभागका अनुसार पछिल्लो २४ घण्टामा विमानस्थलमा तीन सय दुई दशमलव ४ मिलिमिटर वर्षा भएको छ । -रासस

 


Author

थप समाचार
x