घटना-दुर्घटना

बाढी पहिरोबाट ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता

इकागज |
असोज १२, २०८१ शनिबार २०:७ बजे

काठमाडौँ - पछिल्लो  तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार साँझसम्म ६६ जनाको मृत्यु भएको छ । ​

गृह मन्त्रलायले दिएको जानकारी अनुसार अहिलेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालसम्म विपद्मा परेर ६० जना घाइते भएको मन्त्रालयले जानकारी दिएको छ ।


उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । त्यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २,  सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौंमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता रहेका छन् ।

अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ। दुई सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ । 

विपद् जोखिममा परेका नागरिकहरूको खोज तथा उद्धारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।  राहत तथा उद्धारमा नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन भएका छन् ।

जसमध्ये काठमाण्डौं उपत्यकामा मात्रै नेपाल प्रहरीको चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलबाट तीन हजार ५ सय सुरक्षाकर्मी उद्धारमा खटिएका छन् ।


Author

थप समाचार
x