घटना-दुर्घटना

उदयपुरको बेलका क्षेत्रमा सप्तकोशीको बाढी पस्दा एक हजार पाँच सय घर उच्च जोखिममा

इकागज |
असोज १२, २०८१ शनिबार २१:३२ बजे

फाइल फाेटाे

गाईघाट - अविरल वर्षापछि जिल्लाको बेलका नगरपालिका–३ स्थित भाटेपुललगायत क्षेत्रमा सप्तकोशी नदीको बाढी पस्दा करिब एक हजार ५०० घर बाढीको उच्च जोखिममा परेका छन् ।

बेलका नगरपालिका प्रमुख अशोक कार्कीकानुसार वडा नं ३ को भाटेपुल क्षेत्र र वडा नं ८ को लाहुरेखोचमा बाढी पसेपछि ती परिवार उच्च जोखिममा परेका प्रहरीले जनाएको छ । यसरी जोखिममा परेका करिब एक सय ५० जनालाई आजै नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेर अन्य सारिएको बेलका नगरपालिकाले जनाएको छ ।


यस्तै, बेलका—३ को श्रीलंका टापु र चिचिलिया टापु क्षेत्रमा पनि बाढी पस्न थालेपछि हाल सुरक्षाकर्मी र स्थानीय मिलेर उद्धारको प्रयास भइरहेको नगरप्रमुख कार्कीले जानकारी दिए । 

नगर उपप्रमुख जिरा राईले सप्तकोशीमा पानीको बहाव निरन्तर बढ्दै गइरहेकाले वडा नं १, २, ३, ५, ६, ७, ८ लगायतका वडा बढी जोखिममा परेका बताए ।  प्रभावित क्षेत्रका जनतालाई सुरक्षा निकायको सहयोगमा उद्धार कार्य गरी नजिकैको विद्यालय तथा क्याम्पसमा राख्ने काम भइरहेको उनले जानकारी दिए । 

यस्तै नगरको वडा नं ८, २ र ३ का नदी तटीय क्षेत्रका होटल, रिसोर्टसमेत डुबानमा पर्न थालेका छन् । हाल नगरको चिलिया र श्रीलंका टापुलाई नदीको बाढीले घेरेको कारण यहाँका नागरिकको उद्धार गर्ने प्रयास भइरहेको नगरपालिकाले जनाएको छ ।
 


Author

थप समाचार
x