घटना-दुर्घटना

रौतहटमा बाढीले १२ सय ४५ घर डुबानमा, ३ जनाको मृत्यु

इकागज |
असोज १३, २०८१ आइतबार १६:१५ बजे

 रौतहट  - गत बिहिबारदेखि परेको अविरल वर्षासँगै रौतहटका विभिन्न नदीमा आएको बाढीबाट १२ सय ४५ घर डुबानमा परेका छन् । आइतबार विभिन्न घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

जिल्लाको पूर्वीभेग दुर्गा भगवती गाउँपालिका ४ पचरुखिका ३५ वर्षीय राजकुमार मुखियाको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ भने परोहा नगरपालिका ७ नरकटीयाकी १४ वर्षिया आशा कुमारी साहको घाँस काट्न जाँदा जमेको पानीमा डुबेर मृत्यु  भएको छ । यस्तै बौधिमाई नगरपालिका २ ईनरवाका १४ वर्षीय अनिल महतोको आफ्नै ट्युबवेलमा पानी खान जाँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 


अविरल वर्षासँगै बागमती, लालबकैयालगायत विभिन्न नदीमा आएको बाढीले जिल्लाको १८ स्थानीय तहमध्ये १३ वटा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

वर्षा बाढीबाट वृन्दावन, गढीमाई, माधव नारायण, गौर, राजदेवी, ईशनाथ, परोहा, बौधिमाई, मौलापुर, देवाही गोनाही , कटहरिया नगरपालिका,दुर्गा भगवती, र यमुनामाई गाउँपालिका बढी प्रभावित भएको छ ।
 


Author

थप समाचार
x