घटना-दुर्घटना

वर्षाका कारण अरनिको राजमार्गमा पनि ठूलो क्षति

इकागज |
असोज १७, २०८१ बिहीबार १८:२८ बजे

काठमाडौँ - भारी वर्षाका कारण अरनिको राजमार्गमा पनि ठूलो क्षति भएको छ । 

राजमार्गका विभिन्न खण्डमा पहिरोका कारण सवारी आवागमन नै रोकिएको छ । अरनिको राजमार्गको लार्चा–कोदारी खण्डको पाँच किलोमिटर सडक बन्द छ । लिपिङ पुल र लार्चाको बेलिब्रिज बगाएका कारण यातायात अवरुद्ध बनेको हो । त्यस्तै राजमार्गका अन्य सडक खण्डमा पनि पहिरो गएका कारण सडक अवरुद्ध छ ।


सडक अवरुद्ध भएसँगै दशैंका लागि चीनबाट काठमाडौं ल्याउन लागिएका लत्ताकपडा तथा फलफूल बोकेका ट्रक र कन्टेनर रोकिएका छन् । स्थानीय, जनप्रतिनिधि, सुरक्षा निकाय, व्यवसायी लगायतको सक्रियतामा यातायात खुलाउन निरन्तर पहल भइरहेको सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताए ।

भूकम्पले तहसनहस भएपछिको अवस्था सहज हुँदै गर्दा बाढी पहिरोले अर्को समस्या थपेको र नाका नै अवरुद्ध हुन पुगेको उनले बताए । उनले संघीय सरकारको बाटो हेर्दा ढिलाई हुन सक्ने भएकाले आफू–आफू मिलेर नै क्षतिग्रस्त पूर्वाधार मर्मतको काम गर्न खोजेको धारणा राखे । 

त्यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पाले अरनिको राजमार्गमा क्षति हुँदा नेपाल ल्याउन खोजिएको खाद्यान्न सामग्रीहरू बिग्रन थालेको र व्यवसायीहरू समस्यामा परेकाले तत्काल खुलाउनका पहल गरिएको बताए । चीनसँग नाका जोडिएको ठाउँलाई केन्द्रीय सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताए । 

त्यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले लार्चा–कोदारी खण्डलाई सहज बनाउन सके भन्सारमा अड्किएका गाडीहरू राजधानी जान सक्ने भएकाले सबै मिलेर अस्थायी रुपमा भएपनि सडक सञ्चालन गर्ने प्रयास गरिएको धारणा राखे । आफूहरूको चिन्ता केन्द्रीय सरकारसमक्ष नपुगेको होकी भन्ने आभाष भएको उनको भनाइ छ । 

त्यस्तै सिन्धुपाल्चोकका संघीय सांसद मोहन बहादुर बस्नेतले बेलिब्रिजको स्थानमा पक्की पुल राख्न नसक्दा बेलिब्रिज बगाएकाले अव स्थायी रुपमा नै पुल राख्ने गरि अघि बढ्नुपर्ने जिकिर गरे । अरवौँको राजस्व संकलन हुने राजमार्गलाई दिगो रुपमा बनाउनका लागि सरकार चुकेको उनले बताए । उनले अब सबै मिलेर अस्थायी रुपमा सडक सञ्जाल खोल्नुपर्ने र दीर्घकालीन संरचना पनि बनाउनुपर्नेमा जोड दिए । 

भोटेकोसीमा आएको बाढीले नाका नजिकैको अरनिको राजमार्गको लार्चा र लिपिङको मोटरेबल पुल बगाएको छ । लार्चामा रहेको पक्की पुल केही वर्ष अघिको पहिरोले क्षति गरेपनि अस्थायी बेलिब्रिज राखिएको थियो । उक्त अस्थायी बेलिब्रिज अहिलेको बाढीले बगाएपछि नाकाबाट आउने सवारी साधन उतै रोकिन पुगेको हो । 


Author

थप समाचार
x