घटना-दुर्घटना

कोशी ब्यारेजको मर्मत गरिँदै

इकागज |
असोज १७, २०८१ बिहीबार १८:४५ बजे

फाइल फाेटाे

सुनसरी - यही असोज ११ र १२ गते सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ । बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो । 

मुलुकको पूर्वी पहाडी जिल्लाहरुमा अत्यधिक वर्षाभएपछि कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकण्ड ६ लाख ९१ हजार क्युसेकसम्म मापन गरिएको थियो । सप्तकोशीको पानी कोशी ब्यारेज माथिबाट बग्न थालेको थियो । बाढीका कारण ब्यारेजको विभिन्न भागमा क्षति गरेपछि मर्मत थालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । 


सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरुपमा घट्दै गएको छ । पानीको बहाव घटेपछि भत्किएका संरचनाको मर्मत सम्भार सुरु गरिएको प्रजिअ तिवारीले बताए ।  कोशी ब्यारेजको मर्मत सम्भारको काम भारतीय पक्षले गर्न थालेको उनले बताए । 

अहिले कोशी ब्यारेजमा पानीको बहाव घटेर प्रतिसेकेण्ड एक लाख ३८ हजार क्युसेक पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । वर्षाको सम्भावना अझै कायमै रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गरेको छ ।
 


Author

थप समाचार
x