घटना-दुर्घटना

नेपाल–भारत मैत्री संघद्वारा बल्खुका विपद् प्रभावितका लागि सहयोग

इकागज |
असोज १७, २०८१ बिहीबार २२:४ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाल–भारत मैत्री संघले यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौँको बल्खुका पीडित नागरिकका लागि राहत सामग्री सहयोग गरेको छ ।

संघले आज यहाँ एक कार्यक्रमको आयोजनागरी बल्खुका बाढीपीडितका लागि नेपाल चिकित्सक संघमार्फत रु १० लाख बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो । बाढीले बल्खु क्षेत्रमा धेरै क्षति पुगेको अवस्थामा चिकित्सक संघको आग्रहबमोजिम नेपाल–भारतमैत्री संघले सो राहत सामग्री हस्तान्तरण गरेको संघका कार्यवाहक अध्यक्ष ई शैलेन्द्र मोहन झाले बताए । राहत सामग्रीमा खाद्यान्न, औषधि, ब्लाङ्केट, कम्बललगायत बहुउपयोगी सामग्री रहेका छन् ।


 संघका कावा अध्यक्ष झाले भने, “बल्खु क्षेत्रमा धेरै क्षति पुगेको हुँदा चिकित्सक सङ्घको सम्पूर्ण टिमले आग्रह गरेअनुरूप हामीले उक्त राहत सामग्री हस्तान्तरण गरेका छौँ । राहत सामग्रीको उचित व्यवस्थापन हुने हामीलाई आशा छ । अझै गर्नुपर्ने सहयोग हामी गर्दै जान्छौँ । राहत सहयोग यथार्थ पीडितहरूको हातमा परोस् । अरूको हातमा नपरोस् ।”

 यसैगरी चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीले आफूहरूले बल्खु क्षेत्रमा स्वास्थ्य सेवा सँगसँगै राहत वितरण गर्ने बताए । उनले बल्खुमा दुई दिनभित्रमा मेडिकल क्याम्पसहित आफूहरू जाने र राहत वितरण गर्ने जानकारी गराए । 

उनले भने, “यो राहत स्वास्थ्य सेवासँगै जोडेर वितरण गर्नेछौँ । पर्सीसम्म बल्खुमा मेडिकल क्याम्पसहित राहत वितरण गर्नेछौँ ।” उनले विपद्का बेलामा आगामी दिनमा पनि नेपाल–भारतमैत्री संघले यस्तै सहयोग गर्ने विश्वास व्यक्त गरे । 


Author

थप समाचार
x