धौलागिरिमा ज्यान गुमाएका आरोहीको शव इटली आधार शिविर झारियो
म्याग्दी - दश दिनअघि धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना पर्वतारोहीको शव संकलन गरेर इटली आधार शिविर झारिएको छ ।
सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रसियाका पाँच जना पर्वतारोहीको शव संकलन गरेर आज चार हजार मिटर उचाइको इटली आधार शिविर झारिएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले एक वटा शव हेलिकप्टरले सिधै काठमाडौँ लगेको र चार वटा शव इटली आधार शिविरमा झारिएको जानकारी दिए ।
एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको शेर्पाहरुको टोलीले शव उठाएका थिए । उद्धारमा समन्वय गर्नुभएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले मौसम अनुकूल भएमा बाँकी चार वटा शव पनि इटली आधार शिविरबाट आजै काठमाडाैँ लैजाने तयारी भएको जानकारी दिए ।
आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरू सात हजार छ सय मिटरको उचाइबाट असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।
हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण संकलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो । उद्धारकर्ताहरु हेलिकप्टरबाट डोरीमा झुण्डिएर शव भएको ठाउँमा पुगेका हुन् ।
आइएम ट्रेकिङ एण्ड एक्सपीडिसनमार्फत १४ जना रसियाका पुरुष पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । दुई जनाले सफल आरोहण गरेका थिए । सात जना पर्वतरोहीले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए ।
यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरदमा रसियाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया