Ekagaj Logo
०१ कात्तिक २०८१, बिहीबार
(Thursday, 17 October, 2024)

घटना-दुर्घटना

संकटग्रस्त क्षेत्र घोषणा गरिएका पालिकाहरूलाई १ करोडसम्मको राहत

इकागज |
कात्तिक १, २०८१ बिहीबार १८:२३ बजे

फाइल फाेटाे

काठमाडौँ - हालैको बाढीपहिरोपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका पालिकाहरुलाई १ करोडसम्मको राहत उपलब्ध गराइने भएको छ । 

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले संकटग्रस्त क्षेत्र घोषणा गरिएका ७१ पालिकाहरुलाई तीन समूहमा वर्गीकरण गर्दै ५० लाख देखि १ करोडसम्मको राहत दिने निर्णय गरेको हो ।


जसअनुसार पहिलो समूहमा परेका ९ वटा स्थानीय तहलाई रु १ करोड, दोस्रो समूहमा परेका १२ स्थानीय तहलाई ७५ लाख र तेस्रो समूहमा परेका ५० स्थानीय तहलाई रु ५० लाखका दरले राहत उपलब्ध गराउन सिफारिस गर्ने निर्णय भएको प्राधिकरणका सहसचिव बसन्त अधिकारीले जानकारी दिए ।

बैठकले स्थानीय तहलाई राहत रकम खर्च गर्नका लागि सरल प्रक्रिया बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले विपद् तथा खोज कार्यलाई प्रभावकारी बनाउन थप संख्यामा हेलिकप्टर लगायत अन्य उपकरणको व्यवस्थापनका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण राष्ट्रिय परिषद्मा सिफारिस गर्ने निर्णय गरेको अधिकारीले बताए ।

बैठकले हालैको मनसुनका कारण मृत्यु भएका व्यक्तिको परिवारका एक जना व्यक्तिको बीमा गर्न पनि सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए । 

त्यस्तै बैठकले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको बैठकमा निजी क्षेत्रलाई पनि सहभागिता गराउने निर्णय गरेको छ भने पश्चिम नेपालमा गएको भूकम्पपछिको बाँकी रहेका पुनर्निर्माणका कामलाई तीव्रताका साथ अघि बढाउने निर्णय पनि गरेको छ । 


Author

थप समाचार
x