दुर्घटना न्यूनीकरणका लागि संवेदनशील र जिम्मेवार भएर लाग्न गृहमन्त्री लेखकको निर्देशन
काठमाडौँ - गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकायलाई संवेदनशील र जिम्मेवार भएर लाग्न निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा आज सवारी दुर्घटना जोखिम न्यूनीकरण सम्बन्धमा आयोजित छलफलमा उहाँले यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्न नदिन, तीव्र गतिमा सवारी चलाए कानुनबमोजिम जरिवाना र कारबाही गर्न, सवारी चालक अनुमतिपत्र वितरण प्रक्रिया कडाइका साथ लागू गर्न र सडक सुधारका कार्यमा सक्रियताका साथ लाग्न सरोकार भएका निकायलाई निर्देशन दिएका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिदैं गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले सडक सुरक्षामा ध्यान दिएर दुर्घटना न्यूनीकरणका लागि सरोकार भएका निकायसँग गहन छलफल भएको बताए । “यात्रुवाहक सवारी साधनमा मालसामान नबोक्न र मालवाहक सवारी साधनमा यात्रु नबोक्न मन्त्री लेखकले आग्रह गर्नुभएको छ”, प्रवक्ता तिवारीले भने, “लामो दूरीका सवारी साधनमा दुईवटा चालक, यात्रुवाहक बसहरूमा टिकट अनिवार्य गरे÷नगरेको विषयमा तत्काल जाँच गरेर लागू गर्न पनि निर्देश भएको छ ।”
मन्त्री लेखकले जोखिम रहेका सडक तथा राजमार्गहरू तत्काल मर्मतसम्भारमा ध्यान दिन पनि सम्बन्धित मन्त्रालयका अधिकारीहरुलाई आग्रह गरेका थिए । “जोखमपूर्ण सडकको तत्काल मर्मत गर्न सम्बद्ध पक्ष र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिइएको छ”, प्रवक्ता तिवारीले भने, “ट्राफिक नियम उल्लङ्घन गर्ने यातायातलाई कारबाही गर्दा यातायात व्यवसायीले पनि सहयोग गर्नुपर्नेमा यातायात व्यवसायीलाई आग्रह गरिएको छ ।”
बैठकमा सहभागीहरूले प्रविधिमैत्री यातायात क्षेत्रको विकासका साथै ट्राफिक व्यवस्थापनमा पनि आधुनिक प्रविधिको प्रयोग गर्न जोड दिइएको प्रवक्ता तिवारीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया