बाढीपहिरोमा बेपत्ता भएकाको परिवारलाई मृतक सरह राहत रकम दिइने
फाइल फाेटाे
काभ्रेपलाञ्चोक - गत असोज दोस्रो साताको बाढीपहिरोमा बेपत्ता भएकाको परिवारलाई मृतकसरह राहत दिइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज सम्पन्न बैठकले उक्त निर्णय गर्दै जिल्लामा बेपत्ता छ जनाको परिवारलाई राहत रकम उपलब्ध गराउने जनाएको हो ।
विसं २०८१ असार ३१ गते मन्त्रिपरिषद्को बैठकमा बाढीपहिरोमा बेपत्ता भई १० दिनसम्म फेला पर्न नसकेका तर यकिन भएकाको हकमा मृत्यु भए सरह राहत रकम उपलब्ध गराउने निर्णयअनुसार समितिले उक्त निर्णय गरेको हो । समितिका अनुसार उक्त बाढीपहिरोको घटनामा बेपत्ता हुनेमा तेमाल गाउँपालिका–२ की छ वर्षीया अप्रिया तामाङ र तीन वर्षीया प्रिया तामाङ, चौरीदेउराली गाउँपालिका–६ की ४० वर्षीया शान्ता रिमाल, धुलिखेल नगरपालिका–८ की ४२ वर्षीया गीता श्रेष्ठ, बेथान्चोक गाउँपालिका–४ की ज्ञानु परियार र खानीखोला गाउँपालिका–६ की देवीमाया स्याङ्गतान रहेका छन् ।
बेपत्ताका परिवारलाई प्रतिमृतक रु दुई लाखका दरले सङ्घीय सरकार तथा प्रदेश सरकारसमेतले राहत रकम उपलब्ध गराउने निर्णय गरिएको समितिको संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । बाढीपहिरोबाट जिल्लाका ७९ जनाको मृत्यु भएको थियो । जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक विवरणअनुसार जिल्लामा दुई हजार आठ सय ४४ घर पूर्ण र छ हजार ४६ घरमा आंशिक क्षति पुगेको छ। त्यस्तै, तीन हजारदेखि तीन हजार पाँच सय घर पुनःनिर्माण गर्नुपर्ने देखिएको प्रारम्भिक विवरणमा उल्लेख छ। ३० भन्दा बढी सरकारी भवन, तथा सोही सङ्ख्यामा सार्वजनिक भवन पूर्णरुपमा क्षति भएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया