घटना-दुर्घटना

भारतमा कार दुर्घटना : रुपन्देहीका तीन जनाको मृत्यु

इकागज |
फागुन ५, २०८१ सोमबार १६:२० बजे

सांकेतिक फोटो

रुपन्देही - भारतको प्रयागराजमा लागेको महाकुम्भमा सहभागी हुन गएका नेपाली नागरिक सवार कार भारतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–९ भलुहीका ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ४० वर्षीया दीपा खनाल र सोही ठाउँकी ४५ वर्षीया गीता शर्मा रहेका छन् । महाकुम्भबाट स्नान गरेर फर्किने क्रममा भारतको आजमगढ नजिकै उनीहरू सवार कार सडक छेउको डिभाइडरमा ठोक्किएको हो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । 


घाइतेको भारतकै आजमगढ र गोरखपुरमा उपचार भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए । देवदह नगरपालिका–९ का ३५ जनाको टोली कुम्भ मेलामा स्नान गर्न गएको थियो । पाँच कारमा सवार उक्त  टोली फर्किने क्रममा बनारस–आजमगढ राजमार्गमा दुर्घटनामा परेको हो । शव स्थानीय अस्पतालमा परीक्षणका लागि राखिएको र नियमितरुपमा  भारतीय प्रहरीसँग सम्पर्क भइरहेको उनले बताए । 


Author

थप समाचार
x