नेपालगञ्जमा भ्यानको ठक्करबाट बालकको मृत्यु

नेपालगञ्ज - नेपालगञ्जमा भ्यानको ठक्करबाट आज एक जना बालकको मृत्यु भएको छ । सो घटनामा तीन जना घाइते भएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा सडकमा गुडिरहेको भे १ च ३८९५ नम्बरको डेलिभरी भ्यान अनियन्त्रित भएर सञ्जय सिलवालको घरको आँगनभित्र छिर्दा छ वर्षीय बालक दृश्यसिंह बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिम विकले जानकारी दिए ।
दुर्घटनामा स्थानीय ४३ वर्षीय सिलवाल, छ वर्षीया सृष्टि गौतम र आठ वर्षीय सञ्जीव सिलवाल घाइते भएका छन् । उनीहरू घरबाहिर आँगनमा बसिरहेका थिए । तीनै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
भ्यान र भ्यान चालक २३ वर्षीय सुरज थारू र भ्यानमा सवार अर्का एक जना ३८ वर्षीय लियाकत अलीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया