घटना-दुर्घटना

बाढी पहिरोमा परी प्रदेश १ मा ५३ जनाको मृत्यु, ११ जना अझै बेपत्ता

एक हजार बढी घरमा क्षति, विभिन्न जिल्लामा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

बाबुराम भण्डारी |
कात्तिक ४, २०७८ बिहीबार ६:५९ बजे

फाइल तस्‍बिर

विराटनगर - बेमौसमी वर्षापछिको बाढी पहिरोका कारण प्रदेश १ का विभिन्न जिल्लामा ५३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अझै ११ जना बेपत्ता छन् । मृत्यु हुनेमा २६ पुरूष, १७ महिला र १० बालबालिका रहेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरकाअनुसार पहिरोले घर पुर्दा पाँचथरमा मात्रै २४ जनाको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ मा दुईवटा घरका १६ जनाको पहिरोका कारण मृत्यु भएको छ । मंगलबार बेलुका खसेको पहिरोले घर बगाएपछि बेपत्ता भएका उनीहरूको शव प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्साएर निकालिएको जनाइएको छ ।


प्रहरीकाअनुसार दसैँमा पाहुना आएकाले दुई घरमा कति मानिस थिए भन्ने अझै यकिन हुन सकेको छैन । पाँचथरमा पहिरोमा परेर छ जना घाइते भएका छन् भने अझै दुई जना बेपत्ता छन् ।

इलामका विभिन्न स्थानमा आठ महिला र पाँच पुरुष गरी १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पहिरोमा घर पुरिँदा धनकुटामा सात जनाको मृत्यु भएको छ । ६ घाइते भएका छन् भने अझै एकजना बेपत्ता छन् ।

सुनसरीमा बाढी पहिरोमा परेर पाँच जनाको मृत्यु र एकजना बेपत्ता भएका छन् । मोरङको विराटनगरमा सिंघिया खोलाको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ । उदयपुरमा दुईजना र भोजपुरमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढी पहिरोका कारण प्रदेश १ का १४ वटा जिल्लाका एक हजार बढी घर बाढी पहिरोबाट क्षतिग्रस्त भएका छन् । मोरङ, खोटाङ, इलाम लगायत विभिन्न जिल्लाहरूमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x