प्रहरी भ्यानकाे ठक्करबाट मृत्यु भएका परिवारलाई १० लाख क्षतिपुर्ति दिने सहमति
जनकपुरधाम - प्रहरी भ्यानको ठक्करबाट सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवासमा मृत्यु भएका रामकुमार महतोको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति राहत स्वरुप दिने सहमति भएको छ ।
बुधबार जिल्लाको लालबन्दी स्थित इलाका प्रहरी कार्यालयमा पीडित पक्ष, सरोकारवाला र सुरक्षा अधिकारीहरु बीच छलफल पश्चात पीडितलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न प्रदेश प्रहरीमा अनुरोध गर्ने सहमति भएकाे छ ।
यसका साथै मृतक रामकुमारका परिवारिक सदस्यलाई रोजगार र शिक्षाको लागि स्थानीय तह, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स लगायतका संघ संस्थासँग समन्वय तथा अनुरोध गर्ने, प्रहरी र प्रशर्दनकारीबीच भएको झडपमा परी आम नागरिककाे सम्पतिमा भएको क्षतिको विवरण संकलन गरी क्षतिपूर्ति उपलब्ध गराउने तथा झडपमा घाइते भएकाहरुको उपचारका लागि प्रचलित कानून बमोजिम केन्द्रमा सिफारिस गर्ने पनि सहमति भएको छलफलमा सहभागी संघीय सांसद प्रमाेद साहले जानकारी दिएका छन्।
सहमति भएसँगै आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु फिर्ता लिई राजनैतिक दल, संघ संस्था, उद्योगी व्यवसायी, नागरिक समाजले शान्ति सुरक्षा कायम राख्न पहल र मृतकको शव बुझेर परम्परा अनुसार दाहसंस्कार गर्ने पक्रिया अघि बढाइएकाे उनले बताए । घटनापश्चात् आइतबार रातिदेखि नै मृतक रामकुमारको शव जिल्ला अस्पताल मलंगवामा राखिएको थियाे । दाेषीमाथि कारबाही र उचित क्षतिपूर्तिकाे माग गर्दै साेमबारदेखि स्थानीयले आन्दाेलन गर्दै आएका थिए ।
आज भएको छलफलमा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य साह, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खानियाँ, राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक चन्दन झा, जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधिलगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेकाे थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया