घटना-दुर्घटना

होलीमा मापसे गरेर गाडी चलाउँदा दुर्घटना : दुई युवककाे मृत्यु, ४१३ सवारी कारवाहीमा

इकागज |
चैत ४, २०७८ शुक्रबार २०:५६ बजे

विराटनगर - होलीमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने क्रममा भएको दुर्घनामा परी दुई युवकको ज्यान गएको छ । शुक्रबार मोरङकै ग्रामथान गाउँपालिका–१ लखनतरीमा पूर्वबाट पश्चिम गइरहेको को २५ प ८५५९ नम्बरको मोटरसाइकल अन्यत्रित भएर दुर्घटना भएको थियो । 

दुर्घटनामा परी घाइते भएका कटहरी गाउँपालिका–५ का १६ वर्षीय आलोक विश्वास र ग्रामथान गाउँपालिका–१ का १८ वर्षीय रिसभ चौधरी उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उपचारका लागि विराट मेडिकल कलेज पुर्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता मन्जिल मुकारूङले बताए । 


यसैबीच होलीको मौका छोपेर ट्राफिक नियम उल्लंघन गर्ने ४ सय १३ वटा सवारीसाधनका चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरले कारवाही गरेको छ। चालकहरु मादक पदार्थ सेवन गरेर सवारी चलाएका कारण कारवाही परेका हुन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी निरीक्षक चन्द्र बहादुर खड्काले मापसे गरि चलाइएका ४०७ वटा मोटरसाईकल, २ वटा कार, ४ वटा सिटी सफारी र १ वटा ट्रकलाई कारवाही गरिएको हो । कारवाही परेका सवारी साधनका धनीलाई ट्राफिक नियमबारे जानकारी गराउँदै जरिवाना गरेर छाडिने जनाइएको छ।

होलीमा हुने अवाच्छित गतिविधि नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय मोरङले तयार पारेको विशेष सुरक्षा योजना अनुसार ट्राफिक प्रहरीले जिल्लाभरी करिब एक सय ठाउँमा चेकिङ गरेको थियो । सोही क्रममा मापसे गरी शान्ति सुरक्षामै खलल पारेको आरोपमा ७ जनालाई पक्राउ गरी अभद्र व्यवहारको मुद्दा अघि बढाएको जनाइएको छ ।
 


Author

थप समाचार
x