पूर्वाधार

मुस्ताङको कैकु–खन्ती खण्ड कालोपत्रे, छाेटियाे यात्राअवधि

इकागज |
भदौ २१, २०८० बिहीबार ७:५ बजे

म्याग्दी- मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोला देखि गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रे भएपछि यात्राअवधि छोटिएको छ ।    
    
उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत कैकुखोला–खन्ती खण्डको १६ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको हो ।    
    
योजना प्रमुख जगत प्रजापतिले सडक कालोपत्र भएपछि एक घण्टा तीस मिनेटको यात्राअवधि तीस मिनेटमा छोटिएको जानकारी दिए । “कैकुखोला–खन्ती खण्डमा सडक कालोपत्र भएपछि एक घण्टा यात्रा अवधी छोटिएको छ,” उनले भने “मुस्ताङका स्थानीय बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई सहज भएको छ ।”    
    
११ मिटर फराकिलो बनाइएको सडकमा नाली, ग्यावीयन पर्खाल निर्माण र ग्राभेलपछि ७ देखि ८ मिटरको चौडाइका दरले आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । उकालो सडकमा ढलान गरिएको छ । भिरको जोखिमयुक्त सडकको डिलतर्फ साइडबार राखिएको छ ।    
सडक कालोपत्रे भएपछि यात्रा अवधी छोटिएको र आवत जावत सहज भएको स्थानीयबासीहरुले बताएका छन् । मालढुङ्गा देखि कोरला नाकाको २०२ किलोमिटर दुरीको सडक विस्तार गर्न सञ्चालित १२ वटा प्याकेज मध्य कैकु–खन्ती खण्डको मात्रै पूर्णरुपमा कालोपत्रे भएको हो ।    
    
बेनी–जोमसोम–कोरला सडक आयोजनाको तेस्रो प्याकेजमा पर्ने सो सडक कालोपत्र गर्न वि.स. २०७४ जेठमा शर्मा–गजुरमुखीसँग ठेक्का सम्झौता भएको थियो । कैकु–खन्ती सहित बेनी–जोमसोम खण्डको चार प्याकेज (भाग)मा छुट्टा छुट्टै निर्माण कम्पनीहरुसंग रु. दुई अर्ब पचास करोडमा ठेक्का सम्झौता भएको थियो ।    
    
शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपाने (राजन)ले कम्पनीले ठेक्का लिएको राहुघाट र लेतेखोलाको मोटरेबल पुल निर्माणको काम पनि सकिएको जानकारी दिए ।    
    
“शर्मा–गजुरमुखीले ठेक्का लिएको तीन वटा प्याकेज मध्य दुई वटा प्याकेज कालोपत्र र दुई वटा पुल निर्माण सकिएको छ,” उनले भने “७५ प्रतिशत भौतिक प्रगति भएको दोस्रो प्याकेजको म्याग्दी खण्डमा पहिरोले धेरै क्षति गरेको छ । यो खण्डलाई पूर्णता दिने प्रयासमा छौ । छाक्ताङखोलाको मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।”    
    
वि.स. २०७४ मा शुरु भएको चिनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०२ किलोमिटर दुरिको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ । हालसम्म मुस्ताङको सात वटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७५ प्रतिशत छ ।    
    
११० किलोमिटर दुरीको जोमसोम–कोरला खण्डको सात मध्य छ वटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका योजना प्रमुख जगत प्रजापतिले बताए । आठ वटा पक्कि पुल र तीन वटा बेलिब्रिज निर्माण सकिएका छन् । थप एक वटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।    
    
१२ वटा मोटरेबल पुल निर्माणाधिन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताब गरिएको आयोजना प्रमुख प्रजापतिले बताए । यो सडकलाई गण्डकी प्रदेशको “भाग्यरेखा” मानिएको छ ।    
    
सडकले पुर्वाधार, आर्थिक, ब्यापारिक, जलविद्युत, पर्यटन र धार्मीक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको म्याग्दी प्रदेशसभा क्षेत्र (क)बाट निर्वाचित गण्डकी प्रदेश सांसद हरिबहादुर भण्डारीले बताए ।    



Author

थप समाचार
x